काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट दिएको राजीनामापत्र कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन्।

नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । गौतम नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियानमा क्रियाशील थिए।

अध्यक्ष ओलीलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा गौतमले पटक–पटक दिइएका सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्। नेकपा एमाले परित्याग गरेका गौतमले अवका दिनमा के गर्ने भन्ने कुरा भने खुलाएका छैनन्।

प्रकाशन मिति–२०७८ साल भाद्र १८ गते शुक्रवार ।