काठमाडौं। बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो।

नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा अगिना तण्डुकार प्रथम भइन् भने रेशम थापाले दोश्रो स्थान हासिल गरेका छन्। त्यस्तै कल्पना श्रेष्ठ तृतीय बनेकी छन्। विजेताहरुलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ट्रफि प्रदान गरेका थिए । त्यस्तै प्रा.सुवर्ण शाक्यले प्रमाण पत्र वितरण गरेका थिए।

सोही कार्यक्रममा प्रतियोगीता अवधिमा सर्वाधिक एसएमएस प्राप्त गर्ने मन्दिरा बज्राचार्य र उर्मिला तुलाधर, युट्युबमा सर्वाधिक भ्यूज पाउने बबिता बज्राचार्य र मन्दिरा बज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रममा वरिष्ठ गायिका रमना श्रेष्ठ, प्रा.सुवर्ण शाक्य लगायतले वौद्ध क्षेत्रमा प्रतिस्पर्धा वा प्रतियोगीताहरु नहुने तर समयसापेक्ष प्रतिभाको खोजी गर्नु राम्रो भएको धारणा राखेका थिए।

त्यस्तै शुक्रबार भने नेपालभाषा बुद्ध भजनको माध्यमबाट प्रतिभा खोजीको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो। प्रतिस्पधर्मामा सुशील शाही प्रथम बनेका छन्। त्यस्तै मन्जिल शाक्य दोश्रो भए भने प्रतिमा बज्राचार्यले तेश्रो स्थान हासिल गर्न सफल भइन्। विजेतालाई शहरी विकास राज्यमन्त्री मानन्धरले नै ट्रफी प्रदान गरेका थिए भने उद्योगपति, समाजसेवी धर्मबहादुर शाक्यले प्रमाण पत्र प्रदान गरेका थिए।

प्रतियोगीतामा प्रथम भएका शाहीलाई समाजसेवी शाक्यले व्यक्तिगत तर्फबाट ५ हजार नगद समेत प्रदान गरेका थिए। नेपालभाषाको प्रतिस्पर्धामा भने जम्मा एक सय ४० जनाको सहभागीता रहेको थियो। अनलाईन माध्यमबाट विभिन्न चरणमा छनौट हुँदै अन्तिम दशमा पुगेका टप १० प्रतिस्पर्धीबीचको प्रतिस्पर्धाबाट ३ जना विजेता छनौट गरिएको थियो। नेपालभाषा बुद्ध भजन विधा अन्तर्गन सर्वाधिक एसएमएस मत प्राप्त गर्ने श्रृजना बज्राचार्य र अनु श्रेष्ठको साथमा युट्युबमा सर्वाधिक भ्यूज पाउने मिनर्वा शाक्य र बबिता बज्राचार्यलाई पनि पुरस्कृत गरिएको थियो ।

दुवै दिनको प्रतियोगीतामा वरिष्ठ संगीतकारद्वय डबल शाक्य र अनिल तुलाधर, वरिष्ठ गायिका रमना श्रेष्ठ, लोककवि राजभाई जकःमि र वरिष्ठ लेखक, निर्देशक पवन जोशी सम्मिलित निर्णायक मण्डलबाट विजेताको छनौट गरिएको थियो।

बुद्ध शान्त पार्क निर्माण समितिले हाल देवघाटमा ३० रोपनी जग्गामा १६ फिट अग्लो बुद्ध मूर्तिको साथै पञ्चबुद्ध समेत राखेर ध्यान कक्ष सहितको बुद्ध शान्त पार्क निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ। समितिका अध्यक्ष शान्तबहादुर शाक्यले सबैको सहयोगबाटै पार्क निर्माण कार्य अघि बढ्दै गरेको भन्दै यो कार्य पुरा गर्न सबैले सक्दो सहयोग गर्न आव्हान गरेका छन्।
प्रकाशन मिति–२०७७ साल असोज २६ गते सोमवार ।