लण्डन। बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई पढाइ सकेपछि कम्तीमा २ बर्षसम्म काम गर्न पाउने भएको छ। बेलायत सरकारले यससंवन्धमा नयाँ नियम ल्याएको हो।

बेलायती विश्वविद्यालयबाट स्नातक वा माथिल्लो तह पूरा गर्ने विदेशी विद्यार्थीहरूलाई पढाइपछि कम्तीमा २ वर्षसम्म काम गर्न दिइने नयाँ नियम ल्याएको छ। पीएचडी पूरा गरेका विद्यार्थीहरूले भने तीन वर्ष काम गर्न पाउनेछन् । आउँदो जुलाई १ तारिखदेखि ‘ग्य्राजुएट रुट’ मा भिसा आवेदन खुला गरिने सरकारले बिहीबार जनाएको हो ।

अध्ययन पूरा गरिसकेपछि पनि विदेशी विद्यार्थीहरूले बेलायती समाज तथा अर्थतन्त्रमा योगदान गरून् भन्ने उद्देश्यले सरकारले यो स्किम ल्याइएको जनाएको छ । नयाँ रुटले बेलायतमा सन् २०३० सम्म उच्च शिक्षामा ६ लाख विदेशी विद्यार्थी पुर्‍याउने सरकारको ‘अन्तर्राष्ट्रिय शिक्षा रणनीति’ लक्ष्य हासिल गर्न सघाउने अपेक्षा गरिएको छ ।

‘ग्य्राजुएट रुट’ नाम दिइएको योजनाअन्तर्गत भिसा आवेदन गर्न जब अफर वा न्यूनतम तलब देखाउनुपर्ने छैन । यसमा कतिलाई भिसा दिने भन्ने निश्चित कोटा पनि छैन । ग्य्राजुएट विद्यार्थीले आफूअनुकूल काम, जागिर परिवर्तन वा आफ्नो इच्छाअनुसार करिअर विकास गर्न सक्नेछन् ।

भावी सीमा तथा अध्यागमनसम्बन्धी बेलायतीमन्त्री केभिन फोस्टरले भने, ‘विश्वव्यापी महामारीबाट बाहिर निस्कँदै गर्दा हामी संसारकै सर्वोत्तम क्षमता भएको जनशक्ति बेलायतको व्यापार, विज्ञान, कला तथा प्रविधिको क्षेत्रमा काम गरून् भन्ने चाहन्छौं । ब्रिटेन उनीहरूको महत्त्वाकांक्षा पूरा गर्ने एक स्वाभाविक स्थल हुनेछ ।’


प्रकाशन मिति–२०७७ साल फागुन २४ गते सोमवार ।