लण्डन। बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका नेपाली लक्ष्य गुरुङ विजयी बनेका छन्। गुरुङले प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई पराजित गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्।

लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका हुन्। गुरुङले ३००७ मत प्राप्त गरे। सो वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजयी हासिल गरेको छ।

गुरुङले आफ्नो जितप्रति प्रशन्नता प्रकट गर्दै आगामि दिनमा वेलायतस्थित नेपाली र वेलायती समुदाय बीचको सम्वन्धलाई अझ प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले स्थानिय स्कुल, पार्क, ट्राफिक, स्थानीय स्कूलमा नेपाली भाषा पठनपाठन, समुदायका गुनासालगायतको विषयलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने बताएका छन्।

बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका उनी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक हुन्। लामो समय देखी गैरआवासीय नेपाली संघको अभियानमा सकृय उनलाई केही समय अघि मात्रै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय परिषदले गोर्खा सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको थियो।

नेपालमा पुख्र्यौली घर कास्कीका गुरुङ १३ वर्षदेखि बेलायत बस्दै आएका छन्।
प्रकाशन मिति–२०७५ साल बैशाख २८ गते शुक्रबार ।