जनकपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नै भएको छ। मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन्।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन्। जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ।

त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् । जानकी मन्दिर क्षेत्रमा करिब ४५ मिनेट बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्नेछन् ।

त्यसलगत्तै बाह्रबिघा रंगभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी हुनेछन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

त्यसपछि करिब १ बजेतिर मोदी काठमाडौ पुग्ने भएको छ। जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ। यसक्रममा आज जनकपुरमा सुरक्षा स्थिति अत्यन्त कडा गरिएको छ। जनकपुरमा सार्वजनिक विदा पनि दिइएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २८ गते शुक्रबार ।