काठमाडौ। भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबारवाट नेपालको दुई दिने राजकीय भ्रमण हुने भएको छ। भोलि बैशाख २८ गते शुक्रबार भारतिय सेनाको हेलिकोप्टरवाट जनकपुर ओर्लन लागेका भारतीय प्रधानमन्त्री मोदी जनकपुर दर्शन गरी काठमाडौं आउनेछन्।

मोदीको भ्रमणमा क्रममा सर्वसाधारणले काठमाडौका सडकमा धेरै सास्ती भोग्नुपर्ने भएको छ। यसपटक जनकपुर, मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको त्यस ठाँउको वासिन्दाले पनि सास्ती भोग्नुपर्ने भएको छ।

काठमाडौंको लागि बौद्धस्थित हायात होटलमा बस्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म पुग्दा करिब एक घन्टा बाटो खाली गराउने सुरक्षा योजना बनेको छ।

हायत जाने समयमा गौशला, चावहिल, चुच्चेपट्टी ती रुटमा चल्ने सवारीसाधन पूर्ण रुपमा प्रभावित हुनेछन्। टुँडिखेलस्थित सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ को लागि निस्कनेछन् । राष्ट्रियसभा गृहमा उनको नागरिक अभिनन्दन र सम्बोधन कार्यक्रम छ।

त्यस अवधिमा भृकुटीमण्डपको सडक मात्र नभई रत्नपार्कबाट भद्रकालीतर्फको सडक पनि खाली गराउने तयारी छ। गार्ड अफ अनर दिने अवधिमा पनि टुँडिखेल आसपास सडक खाली गराइने ट्राफिक प्रहरीको तयारी छ।

टुँडिखेल आउने समयमा चावहिल, गौशला, एयरपोर्ट,तिनकुने, नयाँबानेश्वर,बहरमहल एनएसी हुँदै आउने हुनाले त्यस क्षेत्रको सडक पनि अवरुद्ध हुनेछ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमै गार्ड अफ अनर दिने परम्परा रहेको थियो।

भोलिपल्ट बिहानै मोदी मुक्तिनाथ दर्शनका लागि विमानस्थलबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने कार्यक्रम छ। त्यो अवधिमा पनि सडक खाली हुनेछ। त्यसपछि काठमाडौँ फर्केपछि मोदी भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २ः४५ बजे काठमाडौ महानगरपालिकाले आयोजना गर्ने नगर अभिनन्दनमा सहभागी हुने समय तालिका छ।

मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्ने कार्यक्रम अनुसार शीतलनिवास जानेछन्। त्यस अवधिमा सर्वसाधारणले थप सास्ती भोग्नेछन्। उनको राजनीतिक भेटघाट द्वारिकाज होटलमा हुनेछ। सो अवधिमा होटलको सडकखण्ड बन्द गर्न लागिएको छ।

स्वदेश फर्कने क्रममा पनि विमानस्थलसम्मको बाटो करिब एक घन्टा खाली गराइँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नेछ।
प्रकाशन मिति–२०७५ साल बैशाख २७ गते विहीवार ।