लण्डन। बेलायतमा कोभिड–१९ को नयाँ स्वरूप देखिएको छ। यो द्रुत गतिमा फैलिइरहेको छ। जसको बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन्। यसको प्रकोपवाट बच्न र बचाउन बेलायतमा लण्डनसहित विभिन्न क्षेत्रमा कोरोना संक्रमण रोक्ने प्रयासमा थप कडा प्रतिवन्धहरु लगाइने भएको छ।

कोरोनाको संक्रमण बढ्दै गइरहेको अवस्थामा प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् साउथ तथा इष्ट इंग्ल्याण्डमा ‘टिएर ४’ प्रतिवन्ध लगाउने घोषणा गरेका छन्। यसअघि विभिन्न ३ टिएरमा राखेर क्षेत्रगत रुपमा प्रतिवन्धहरु लागू गरिएकोमा संक्रमण बढ्दै गएपछि थप कडा प्रतिवन्धसहितको टिएर ४ लागू गर्न लागिएको हो।

डिसेम्बर २० आइतबारदेखि २ साताको लागि लागू हुने गरी घोषित टिएर ४ प्रतिवन्धअन्तर्गत अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द रहनेछन् । हाल खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय बन्द हुनेछन् ।

सर्वसाधारणलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्रै रहन ’स्टे होम’ को अपील जारी गरिएको छ । यसअघि क्रिसमसका अवसरमा दिने भनिएको ३ परिवारसम्म जमघट हुन पाइने छुट पनि स्थगित गरिएको छ । टिएर ४ बाहेक का क्षेत्रमा पनि उक्त छुट पहिला भनिएजस्तो ५ दिनबाट घटाएर क्रिसमसको दिनलाई मात्रै सिमित गरिएको छ ।


प्रकाशन मिति–२०७७ साल पुस ४ गते शनिवार ।