लण्डन । बेलायतमा फेरि देशव्यापी लकडाउन घोषणा भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत सोमवार मध्यरातदेखि लागू हुने गरी मध्य फेब्रुअरीसम्म देशव्यापी लकडाउन घोषणा गरेका हुन्।

कोरोना महामारीमा नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेपछि बेलायत सरकारले फेरि राष्ट्रिय लकडाउन घोषणा गरेको हो। यसअघि गत नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म लागू लकडाउन खुलाइएसंगै बेलायतमा संक्रमणको आधारमा क्षेत्रगत प्रतिवन्धहरु लगाइएको थियो।

बेलायतमा देशव्यापी लकडाउन भएको यो तेस्रोपटक हो। पहिलो चरणमा गत वर्षको मार्च २३ बाट शुरु लकडाउन तीन महिनाभन्दा लामो समय कायम राखिएको थियो। दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। बेलायतमा नयाँ लकडाउन घोषणा भएसंगै सिंगो बेलायत नै फेरि लकडाउनमा गएको छ। स्कटल्याण्डमा मंगलबारदेखि नै लागू हुने गरी नयाँ लकडाउन घोषणा भएको छ भने वेल्स र नर्दन आयरल्याण्ड पनि लकडाउनमै छन्।

८ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री जोन्सनले ‘किवर्कर’ र कन्सट्रक्सनमा काम गर्ने कामदारबाहेक अरुलाई घरैबाट काम गर्न आव्हान गरेका छन्। खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घर नजिक शारिरीक अभ्यास, जोखिममा रहेका मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षण जस्ता अत्यावश्यक कामबाहेक घरैमा बस्न प्रधानमन्त्रीको आग्रह छ। स्कुल कलेज बन्द गरेर मंगलबारदेखि अनलाइन कक्षा र परीक्षा पनि रदद गरिएको घोषणामा छ।

नयां कोरोना भाइरस भेरिएन्ट ५० देखि ७० प्रतिशतसम्म संक्रामक र ज्यादै ‘निराशाजनक एवं डरलाग्दो’ रफ्तार रहेको बताउंदै प्रधानमन्त्री जोन्सनले बेलायतका प्रमुख चिकित्सा सल्लाहकार र एनएचएस इंग्ल्याण्ड मेडिकल डाइरेक्टरले देशमा महामारी यताकै पहिलोपटक भाइरस सबैभन्दा उच्च ‘५ अलर्ट’ मा प्रवेश गरेको बताएको जनाए। यसको मतलब अहिले कडा कदम नचालिए २१ दिनभित्र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले थेग्न नसक्ने जोन्सनले बताए। लकडाउन यति नै अवधिका लागि भनेर स्पष्ट घोषणा नभएको भएपनि कमसकेकम मध्य फेब्रुअरीसम्म कायम रहने अनुमान छ।

बेलायतमा कोरोना भाइरसको नयां स्वरुप (भेरिएन्ट) तीव्र रुपमा फैलिइरहंदा सोमबार संक्रमितको संख्या लगातार सातौं दिन ५० हजारभन्दा माथि पुगेको छ। सोमबार २४ घन्टामा ५८ हजार ७८४ जना नयां संक्रमित थपिएका छन्।

बेलायतमा सोमबार थप ४०७ जनाले कोरोनाका कारण ज्यान गुमाएसंगै मृतक कुल संख्या ७५ हजार ४ सय ३१ पुगेको छ। सरकारले कोभिड १९ खोप वितरण र परीक्षण पनि रफ्तारमा अगाडि बढाएको छ। सोमबारदेखि अक्सफोर्ड एस्ट्राजेनेका खोप आममानिसमा दिन शुरु भएको छ। भाइरस परीक्षणका लागि सरकारले ५ हजार भन्दा बढी सैनिक परिचालन समेत गरेको छ।


प्रकाशन मिति–२०७७ साल पुस २१ गते मंगलवार ।