लण्डन। बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ। नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टमा कार्यरत धादिङका २१ बर्षिय थापालाई तरबार पुरस्कार सहितको अन्तरराष्ट्रिय सम्मान प्रदान गरेको हो।

बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले विभिन्न देशवाट छानिएर आएका सैनिक अधिकृतहरुलाई बर्षभरि दिइने तालिममा सर्वोत्कृष्टता प्राप्त गर्नेलाई उक्त अन्तरराष्ट्रिय सम्मान दिइने प्रावधान अनुरुप यो बर्ष नेपाली सेनाका थापालाई उक्त सम्मान दिइएको हो।

सम्मानित थापा दुई बर्षअघि मात्र नेपाली सेनामा भर्ती भएर छानिएर तालिमका लागि बेलायत आइपुगेका हुन्। थापालाई प्रदान गरिएको सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गावहादुर सुवेदी लगायतका दूतावासका कर्मचारीहरु रहेका थिए।
प्रकाशन मिति–२०७७ साल मंसीर ३० गते मंगलवार ।