लण्डन। बेलायतको पहिलो नेपाली इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा भएको यो बर्षको ‘युके डान्स अफ २०१८’को उपाधि रजनी गुरुङले जितेकी छन्।

अल्डरसटस्थित प्रिन्सेस हलमा सम्पन्न तेस्रो प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिनेर रजनीले उक्त उपाधि जितेकी हुन् । पब्लिक भोट पनि रजनीकै पक्षमा अत्यधिक रहेको जानकारी आयोजक सपन इन्टरटेन्टमेन्टका प्रमुख सपन कुमार राईले बताएका छन्।

Mr.Sapan Kumar Rai-Chairman of Sapan Entertainment.

विजेता रजनी गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई एवं मञ्जु गुरुङले १२ सय पाउन्ड नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। प्रतियोगितामा बेनुका लिम्बू दोस्रो र सिर्जना रायमाझी तेस्रो बने।

प्रतियोगितामा नायिका मिरुना मगर, युके डान्स अफकी पूर्वविजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ निर्णायक थिए भने पहिलो नेपाल आइडल बुद्ध लामा अतिथि निर्णायक थिए।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाली कला संस्कृतिको जगेर्ना र भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली भएर बाँच्न र नेपाली भएर मर्न सबैलाई अपिल गर्दै उत्कृष्ट कार्यक्रम भएकोमा आयोजक सपन कुमार राईलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका थिए।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले यस्ता प्रतियोगिताले बेलायतस्थित युवा पुस्ताको प्रतिभा उजागर गर्न महत्वपूर्ण सहयोग भएको आफ्नो धारणा राखे। कार्यक्रम अत्यन्त भव्य तथा सभ्य भएको सहभागीहरुले बताएका थिए।
प्रकाशन मिति–२०७५ साल कात्तिक १ गते विहीवार ।