लण्डन । बेलायतमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीवाट बच्न र बचाउन कोरोना विरुद्धको खोप लगाउने कार्यको शुरु भैसकेकोको छ। हालसम्म बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप एक लाख ३७ हजारभन्दा बढीले लगाइसकेका छन्।

पहिलो खोप लगाएको एक हप्ताको अवधिमा यति मानिसले खोप लगाएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका हुन् । बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाइदिएर कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो ।

औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै शुरु भएको हो । बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो । स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन् ।

बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने छ। यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ। पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले वताएका छन्।

बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएर बेलायतमा हालसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने कूल झण्डै १९ लाख मानिस सङ्क्रमित भएका छन्।
प्रकाशन मिति–२०७७ साल पुस २ गते विहीवार ।