–विजय थापा।
(वासिंङटन डीसी) अमेरिका। अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगरका मेयर बरनार्ड सी ज्याक योङ्गको निमन्त्रणामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अमेरिका आइपुगेका छन्।

फेड्रिकवर्ग नगरका मेयर अघिल्लो बर्ष नेपाल जाँदा काठमाडौं महानगरपालिकासंग भगिनी संवन्ध विस्तार गर्ने प्रस्ताव राखेअनुरुप भगिनी संवन्ध स्थापना गर्न अमेरिका आएका मेयर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भव्य स्वागत गरिएको छ। मेयर शाक्यलाई बाल्टिमोर स्थित नेपाल हाउसमा स्वागत गरिएको हो।

बरिष्ठ लोक गायक तथा महाबाणिज्य दूत प्रेमराजा महत लगायतले मेयर शाक्यलाई भव्य स्वागत गरेको हो। काठमाडौँ महानगरपालिकाका साथमा बाल्टिमोर नगर परिषदका प्रमुख लगायत उनका साथमा आएका बिदेशी टोलीका सदस्यहरुलाई बाल्टिमोरका नेपाली समुदाय ,बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)का अध्यक्ष अनु श्रेष्ठ वन्त, लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष विजय श्रेष्ठ,बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य,वर्ल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठ लगायतले समेत स्वागत गरेका छन्।

उक्त अनौपचारिक स्वागत तथा रात्री भोज कार्यक्रममा मेयर शाक्यलाई लायन्स क्लब अफ बाल्टिमोरले लायन्स क्लबको बिल्ला (पिन) समेत प्रदान गरिएको थियो। उक्त कार्यक्रममा मेयर शाक्यले सवैलाई धन्यवाद दिदै आफूले अमेरिकाको राम्रो कुरा सिकेर फर्केर काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर शहर बनाउन कटिबद्ध रहने बताए।


प्रकाशन मिति–२०७५ साल असोज ३ गते बुधवार ।