काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते नेपाल आउने भएका छन्।

प्रधानमन्त्री मोदीलाई सोही दिन काठमाडौंको टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ। भ्रमणकाक्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान–प्रदान गर्नेछन्। साथै, दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् ।

नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन्। काठमाडौमा काठमाडौं महानगरपालिकाले र जनकपुरमा जनकपुर उपमहानगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्ने भएको छ।

मोदीको यो तेस्रो नेपाल भ्रमण हो। सन् २०१४ मा उनी दुईपटक नेपालको भ्रमणमा आएका थिए।
प्रकाशन मिति–२०७५ साल बैशाख २१ गते शुक्रबार ।