cpn-umlकाठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणकाक्रममा कैलालीको टीकापुर घटनाका ‘मुख्य योजनाकार’ रेशम चौधरीलाई भेटेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ। चौधरी प्रहरीको मस्ट वान्टेटमा रहेको र उनलाई ‘सरकार प्रमुखले सुरक्षा निकायका प्रतिनिधिसमेतको उपस्थितिमा भेट्नुले कानुनको धज्जी उडेको’ एमालेको ठहर छ।

prachanda-meet-resham

दुई वर्षका बालकसहित ८ प्रहरीको ज्यान जाने गरी गत वर्ष भदौ ७ गते भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीलाई भेटेकोबारे स्पस्ट पार्न पनि मंगलबार राजधानीमा बसेको एमाले स्थायी समिति बैठकले माग गरेको हो।

बैठकले नेपालको संविधान संशोधनको विषय नेपाल–भारत संयुक्त विज्ञप्तिमा उल्लेख गरिएकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ। नेपालका परियोजना अनुगमनका विषयमा भारतीय दूतावासका कर्मचारी र नेपाल सरकारलाई एउटै हैसियतमा राख्नु दुःखद भएको एमालेको ठहर रहेको छ।

बैठकले मंगलबार राजधानीका विभिन्न विद्यालयमा गराइएको बम विस्फोटको घटनाको विरोध गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग पनि गरेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।