Madheshi-Morcha-Neta

काठमाडौ। असोज ३ गतेलाई मात्रै कालो दिवस मनाउने घोषणा गरेको मधेसी मोर्चाले आगामी असोज २ देखि ४ गतेसम्मलाई कालो दिवसको रुपमा मनाउने घोषणा गरेको छ। संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय काठमाडौंको तीनकुनेमा आइतबार बसेको मोर्चा बैठकले सरकारले असोज २,३ र ४ गते संविधान दिवस मनाउने घोषणा गरेपछि त्यसको विरोधमा कालो दिवस मनाउन लागेको हो।

Madheshi Morcha Neta

सरकारले तीन दिन हर्षोल्लासका साथ संविधान दिवस मनाउने घोषणा गरेपछि मोर्चाले पनि तीनै दिनलाई कालो दिवसको रुपमा मनाउन लागेको जनाएको छ। फोरम अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले असोज २ गते कार्यक्रमको प्रचारप्रसार गर्ने, माइकिङ गर्ने, पम्प्लेट बाँड्ने, ३ गते सबै जिल्ला सदरमुकामहरुमा संविधानको विरुद्धमा प्रदर्शन गर्ने र साँझ ७ देखि ८ बजेसम्म ब्ल्याकआउट गर्ने र ४ गते मधेस आन्दोलनको क्रममा सहिद भएकाहरुको सम्झनामा श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ।

बैठकले ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति बनाएको छ। सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा समितिमा तमलोपाका उपाध्यक्ष वृषेश चन्द्रलाल, संघीय समाजवादी फोरमका उपाध्यक्ष लालवावु राउत, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा, थरुहट पार्टीका भानुराम चौधरी, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका सदस्य छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।