काठमाडौं । सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सरोकारवाला कार्यालयका प्रमुखहरुसँग आग्रह गरेका छन्।

बिहीबार महानगरको सभा कक्षमा बसेको बिकासे अड्डाका प्रमुखहरुसँगको छलफलमा मेयर शाक्यले,’महानगरका सडक सफा गर्ने प्रयासमा सहयोग गर्न पनि योजना बुझाउनु जरुरी रहेको बताएका छन्। बिहान हिँड्दा केही सद्दे देखिएको सडक बेलुका फर्कदा खाडल बनिसकेको हुन्छ । को आउँछ? किन खाडल बनाउँछ? केही थाहा हुँदैन । यो समस्याको समाधान नगरि महानगरले जति गरेपनि परिणाम देखिँदैन।” मेयर शाक्यको भनाइ थियो ।

शहरी स्वच्छताका लागि हामी दैनिक सरसफाइ हुन्छ । यसलाई सुधार गर्न हामीले ब्रुमर किनेर ल्याएका छौं । यी व्रुमरको प्रयोग गर्ने ठाउँ बनाउनु प-यो । मेयर शाक्यले सडकको अवस्थाका विषयमा कुरा गर्दै भने— “सडक खन्नेले टालेर मात्र छोडिदिँदा हामीले फेरि कालो पत्रे गर्नुपर्छ । यस प्रकार काममा दोहोरो श्रोत खर्च गर्ने अवस्थाको अन्त्य गर्नुप-यो ।”

शहरी सेवा तथा सुविधा वितरणका काममा केन्द्रीत छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले काम गर्दा नागरिक र अन्य साझेदारप्रति उत्तरदायी हुने संस्कारको खाँचो औल्याए। विषयगत कार्यालयसँगै शहरी सुव्यवस्था कायम गर्न नागरिक सचेतना बढाउन जरुरी छ । तर त्यसका लागि पहिले सरकारी अड्डाले गर्ने काम उदाहरणीय बनाउनु पर्ने कोइरालाको तर्क थियो ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले, सानोतिनो पानी परेका बेला पनि पुतलीसडक, जमल जस्ता ठाउँ डुबानमा परेर सवारी आवागमन नै अवरुद्ध हुने गरेको तथ्य उल्लेख गर्दै कमजोर पूर्वाधार सुधारमा ध्यान जानुपर्ने खाँचो रहेको बताए ।

बैठकमा बोल्दै नेपाल बिद्युत प्राधिकरण रत्नपार्क शाखाका प्रमुख थिरकुमार खत्रीले, बिजुली पोल र तिनमा जेलिएका तारले पु-याएको असरको दोष प्राधिकरणलाई मात्र नदिन आग्रह गरे । प्राधिकरणभन्दा इन्टरनेट र केवुल सेवा प्रदायक निजी क्षेत्रका तारले समस्या पारेको खत्रीको भनाइ थियो । यसै प्रसङ्गमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले, पहिलो चरणको अधिकांश काम सकिएको जानकारी दिँदै दोश्रो चरणको काम गर्दा महानगरलाई जानकारी दिएर मात्र काम थाल्ने मेयर शाक्यको आग्रहलाई स्वीकार गर्दै बताए।

बैठकमा शहरी हरियाली, घर र सडकका पर्खालको बनावट तथा रङ्गमा एक रुपता, घर तथा भवनको एक रुपता, भित्ते लेखन, पोस्टर पम्प्लेट, व्यानर, तुल ब्यानर तथा विभिन्न आकार प्रकार र प्रकृतिका प्रचार सामाग्रीको व्यवस्थापन, शहरी सेवा सुविधा वितरणअन्तर्गत सडक, खानेपानी, विद्युत, टेलिफोन, केवुल तथा इन्टरनेट सेवाप्रदायक सेवा, पार्किङ् व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, शिक्षा व्यवस्थापन जस्ता विषयमा छलफल गरिएको थियो । त्यस्तै पूर्वाधारतर्फ सडकको स्वामित्व र व्यवस्थापन, सडक संकेत, सडकसँग जोडिएका अन्य पूर्वाधार (विजुली तथा टेलिफोनका खम्बा), सौर्य बत्ती र खम्बामा राखिएका प्रचार सामाग्रीको, व्यवस्थापन ढल निकास, सडक पेटी, साइकल ट्र्याकजस्ता विषयमा उठान गरिएका थिए ।

बैठकमा चैत्र १५ र १६ गते काठमाडौं हुने लगानी सम्मेलनमा आउने विशिष्ट पाहुना आवतजावत गर्ने सडकका खाल्टाखुल्टी पुर्ने तथा धुँवा धुवोरहित बनाउने, तार र केबल इन्टरनेट दीर्घकालीन व्यवस्थापनको काम थालनी गर्ने, धुँवा, धुलो र ध्वनीरहित महानगर बनाउने, ट्राफिक व्यवस्थापनका लागि लेन बनाउने कामलाई एकीकृत प्रणालीबाट थालनी गर्ने र यसको नेतृत्व महानगरले गर्ने निर्णय गरिएको छ ।
प्रकाशन मिति–२०७५ साल चैत्र ७ गते विहीवार ।