काठमाडौं। नेपालमा गोरखाको बारपाकमा केन्द्र विन्दू भएर गएको विनासकारी महाभूकम्प आज ६ वर्ष पूरा भएको छ। विसं.२०७२ साल वैशाख १२ गतेका दिन नेपाली जनताका लागि ठूलो कष्टको दिन सावित भएको थियो।

मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प गएको पनि ६ वर्ष पूरा भएतापनि नेपाली जनतामा त्यसको त्रास र पीडा उस्तै छ। उक्त महाभूकम्पबाट ८ हजार ९ सय ७९ जनाको निधन भयो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए।

महाभूकम्पको त्रासदी ब्यहोरेका अधिकांश नेपाली उक्त दिन सम्झन पनि चाहँदैनन। २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५५३ विद्यालय, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो।

३ हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग छ।


प्रकाशन मिति–२०७८ साल बैशाख १२ गते आइतवार ।