सम्पादकीय

देशमा राष्ट्रप्रमुख महिला अनि पहिलो महिला मुख्य मन्त्री भएको अवस्था छ। तर अझै पनि नीति निर्माण तह अझै भनौ निर्णायक ठाउँमा महिलाको समान र उल्लेखनीय सहभागिता भएको छैन।

महिलाहरुलाई पुरुषसरह विकास कार्यमा सहभागी बनाउनका लागि महिला सशक्तिकरणको धारणाको विकास सन् १९८० मा गरिएको थियो। र पनि महिलाहरुको शिक्षा, रोजगारी तथा सार्वजनिक र राजनीतिक जीवनमा सहभागिताको अध्ययन गर्दा महिला र पुरुष बीच ठूलो भिन्नता पाइन्छ।

त्यसो त राजनीतिमा महिला सहभागितालाई हेर्ने हो भने नालापानी लडाई देखि प्रजातन्त्र स्थापनाका लागि विसं.२००७, विसं.२०४६ साल अनि विसं.२०६२-६३ को जनआन्दोलनको क्रममा अग्रपंक्तिमा उभिएर सघर्ष गरेको पाइन्छ।

हरेक राजनैतिक परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण छ। यही भूमिका कै फलस्वरुप अहिले राजनैतिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो क्रममा छ। मुलुकलाई विकास र समृद्धिको बाटोमा डो-याउने एउटा महत्वपूर्ण आधार राजनीति पनि हो। पछिल्लो समय राजनीतिमा महिलाको सकृयाता र भूमिका बढ्दै गएको पनि छ।

राजनितिमा महिला सहभागिताले मुलुकको विकास निर्माणमा महिलाका जिम्मेवारीलाई पनि बढाएको छ। तर राजनीतिमा लागेका महिलालाई सजिलो भने पक्कै छैन। मुलुकमा महिलाकै अग्रसरता र प्रत्यक्ष सहभागितामा ठूला ठूला राजनैतिक परिवर्तन भएका छन्। तर यसकिसिमका परिवर्तनका बावजुद पनि हाम्रो मुलुकमा पितृसत्तात्मक सोच हाबी छ। जुन सोचबाट स्वयम राजनितिमा संलग्न महिलाहरु शिकार हुन बाध्य छन्।

नेपालमा विसं. २००७ सालअघि राजनीतिमा महिलाको सहभागिता शुन्य प्राय नै थियो। महिलाहरू सबै प्रकारका अधिकारबाट वञ्चित थिए । तर, विस्तारै महिलाका क्षेत्रमा परिवर्तनका रेखा कोरिना थाले । महिला पनि राजनीतिमा आउन थाले। मंगलादेवी सिंह, साधना प्रधान, कमला राणा, द्वारिकादेवी ठकुरानीजस्ता महिलाले राजनीतिमा सक्रिय रूपमा भाग लिए।
राजनीतिमा महिलाले विभिन्न शोषण, विभेदको सामना गर्दै संघर्ष गरि नै रहे। त्यही सघंर्षकै फल मान्नु पर्छ। यति बेला राज्यको प्रमुख निकायमा महिलाको उपस्थिति छ। राजनीतिबाटै महिलाले सिंगो मुलुक हाक्न सक्छिन अनि मुलुकलाई समृद्धि बनाउन पनि सक्छिन। खाँचो छ त समान व्यवहारको।

समानता र समान हकको कुरा बोलीमा मात्र नभइकन व्यवहारमा पनि लागु गर्नु आवश्यक छ। जसका कारण राष्ट्रको उपल्ला तह अनि तप्कामा पनि महिला पुग्न सक्छन भन्ने कुरा वर्तमान राष्ट्रप्रमुख देखि मुख्यमन्त्रीसम्मको उदाहरण हो। यसअर्थमा, महिलालाई घर–परिवार तथा चुलाचौकामा मात्र सिमित राख्न हुन्न। परिवर्तनका हरेक तहतप्कामा अवसर दिएमा निश्चित रुपमा पौरख र क्षमता देखाउन कुनैपनि महिला कम छैन्।

त्यसका लागि नेपाली राजनीतिमा महिला भूमिका र आवश्यकताको महत्व छ। महिलाले नेपाली राजनीतिका धेरै धार परिवर्तन गर्न सक्छन्। नेपाली राजनीतिमा महिलाको भूमिका र सहभागिता अत्यन्त आवश्यक छ। हरेक राजनीतिक पार्टीले केवल ३३ प्रतिशत मात्र सहभागिता नगरिकन ५० प्रतिशत नै सहभागिता दिलाएर नेपाली राजनीतिलाई अग्रता दिनु समयको माग हो।
(नामी साप्ताहिकको सम्पादकीयवाट साभार)
प्रकाशन मिति–२०७८ साल भाद्र २३ गते बुधवार ।