नयाँदिल्ली। भारतले माल्दिभ्स आफ्नो पकडभन्दा बाहिर गएरपछि नाकाबन्दी गरेको छ। माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि नाकाबन्दी गरेको खुलेको हो। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी)ले माल्दिभ्सले निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ। भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ।

माल्दिभ्सले मुलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ।चीनले माल्दिभ्सको पयर्टन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको छ। माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गरेको हो।
प्रकाशन मिति–२०७५ साल असार ११ गते सोमवार ।