काठमाडौं। कला तथा संस्कृति अनि भाषाको उन्नत नेपालभाषा अर्थात नेवार भाषाको प्रवद्र्धनका लागि प्रत्येक बर्ष हुदैआएको मिस नेवाःको १६ औं संस्करण पुगेको छ। मिस नेवाःको १६ औं संस्करण सभ्य तथा भव्यरुपमा आगामी नयाँ बर्ष २०७९ बैशाख १८ गते आइतवार हुने भएको हो।

१६ औं संस्करणको मिस नेवाःको प्रतिस्पर्धामा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेक्षा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन गरी १९ नेवार सुन्दरीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेभएको छ।

मिस नेवाःको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले भनेको छ। आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार, मिस नेवाःका प्रतिस्पर्धीहरुलाई आत्मविश्वास र व्यक्तित्व विकासको अलावा नेवार संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवार लिपिदेखि भाषा र पहिरनसम्म गरी नेवार कला, संस्कृति, भाषा र संस्कारसम्बन्धी सिकाउने कार्य हुने गरेको छ।

जसलेगर्दा मिस नेवाःको फाइनल कम्पिटिसन शोका हिसाबले एक दिन मात्र जस्तो देखिए पनि प्रतियोगिताअन्र्तगत कम्तिमा २ महिनाको कार्यक्रम हुदैआएको छ। काठमाडौंको प्रज्ञाभवनमा हुन गैरहेको १६ औं संस्करणको मिस नेवाःतयारीको करिब करिब अन्तिम चरणमा पुगिसकेको आयोजक नेप्लिज फेसन होमले जनाएको छ।

प्रकाशन मिति–२०७८ साल चैत २३ गते बुधवार ।