–नृपेन्द्रलाल श्रेष्ठ
काठमाडौं। पंचायती व्यवस्थाका प्रणेता राजा महेन्द्रको कान्छी महारानी रत्नको नामवाट चलाएको पार्कको नाम रत्नपार्क यतिखेर चर्चाको विषय बनेको छ। काठमाडौंको टुँडिखेलभित्रको एक भागलाई रत्नपार्क नाम दिएर राजा महेन्द्रले चलाएको रत्नपार्कको बास्तविक नाम तिंख्य अर्थात टुँडिखेल नै हो।

यही तिंख्य नै पञ्चायत कालमा रत्नपार्क हुंदै तीन वर्षयतादेखि त्यस रत्नपार्कको नाम शंखधर उद्यान भएको छ। रत्नपार्कमा राष्ट्रिय विभूति शंखधर साख्वाः र पञ्चायतकालमा बामपन्थी मसिहाको रुपमा व्यापक चर्चित जननेता पदमरत्न तुलाधरको शालिक अनावरण भएसँगै यो ठाउँको नामको विषयमा व्यापक चर्चा–परिचर्चा चुलिएको हो ।

रत्नपार्कलाई शंखधर उद्यान बनाइएकोमा एउटा समूहले विरोध गरेको छ। बरु त्यतिमा सीमित छैन, शंखधर उद्यानलाई रत्नपार्क नै कायम नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। यसबाट एउटा विषय प्रष्ट भएको छ, कि ठाउँको नाम परिवर्तन गर्दा विरोध हुने पक्का छ। तर, अहिले शंखधर उद्यानलाई अस्वीकार गर्दै आएको समूहले ३ वटा प्रश्नको उत्तर दिनु जायज होला ।

१. के त रत्नपार्क नै त्यो ठाउँको मौलिक नाम हो ?
२. पूर्व बडामहारानी रत्नको नामबाट राखिएको रत्नपार्क, साँच्चै मौलिक नामै हो त ?
३. काठमाडौं खाल्डोमा फिब्व ख्यःबाट माइतीघर भयो, असंबाट असन, येँबाट काठमाडौं र भक्तपुरमा कांलाबाट गठ्ठाघर र यस्तै यस्तै थुप्रै । यति धेरै ठाउँको नाम परिवर्तन भइरहँदा तिंख्यःबाट रत्नपार्क बनेकोलाई शंखधर उद्यान बनाउँदा किन मौलिक तिंख्यः भन्दा रत्नपार्कलाई दुख्यो ?

अहिले शंखधर उद्यान, बीचको कालखण्डमा रत्नपार्क भनेको उहिलेको तिंख्यः नै हो। यो कुरा बुझ्नु जरुरी छ। यो ठाउँको नाउँ जनजिब्रोमा झुण्डिनुको मुख्य कारक भनेको रत्नपार्क बसस्टप भएर हो । बसका सहचालकले ठाउँको नाम बढी उच्चारण गर्नाले जनजिब्रोमा कण्ठष्ट हुनपुगेका थुप्रै उदाहरण छन् । फिब्वख्यःमा राखिएको माइतीघर चलचित्रको पोस्टरको आधारले उहिले माइतीघर बनेको उदाहरणदेखि बबरमहललाई रातोभाले, पुरानो सिनामंगललाई पेप्सिकोला, घलांमोबाट काँडाघारी हुँदै सनसिटी अपार्टमेन्ट आदि ।

समाजले नामांकरण गरेको तिंख्यःलाई शक्ति र सत्ताको बलले उहिले रत्नपार्क बनाइयो। अहिलेको शंखधर उद्यान उहिलेको तिंख्यः नै हो भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ । सहचालकले रत्नपार्कको ब्राण्ड बनाइदिएको भएर अहिलेको शंखधर उद्यान उहिलेको तिंख्यः हो भन्ने विषय नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । हो, मौलिक नाउँ परिवर्तन गर्न हुँदैन ।

पहिचानसँग सम्बन्धित नाउँलाई परिवर्तन गरिदिँदा मौलिकतामा प्रश्नचिन्ह लाग्न सक्छ । तर रत्नपार्क आफैमा मौलिक नाउँ हो वा होइन ? रत्नपार्कको मौलिकतामा नै प्रश्नचिन्ह छ । मौलिक नाउँ यथावत राख्ने हो भने तिंख्यः बनाउनुपर्छ भन्ने आवाज बुलन्द हुनुपर्नेमा बीचको कालखण्डमा राखिएको रत्नपार्कको प्रश्न कसरी आयो ?

अमुक पार्टीमा आस्था राख्नेहरुले आधा शताब्दी पुगी नसकेको इतिहासमा चासो देखाइ रहँदा सयौँ वर्षको विरासत बोकेको मौलिक नाउँ परिवर्तन हुँदा किन चुइक्क बोलेनन् ? रैथानेहरुको पहिचान मेटाइरहँदा अमुक पार्टीका अन्धभक्तहरुको चेतना गुमेकै हो ? विचारनीय पक्ष छ।

राजनीतिक दललाई प्रतिनिधित्व गर्ने अधिकांस नेता तथा रैथानेहरुले तिंख्यःलाई राष्ट्रकै विभूतिको नाउँमा शंखधर उद्यान नामांकरण गरेकोमा स्वागत गरेका छन् । तत्कालीन नेपालमा गरिब किसानको ऋण मोचन गरिदिने महामानवको नाउँमा स्थापित गराइएको शंखधर उद्यानमा सच्चा राष्ट्रभक्तलाई नदुख्नुपर्ने हो। आम सर्वसाधारणदेखि सामाजिक अभियन्ताहरुलाई पनि शंखधर उद्यान नै स्वीकार्य छ। त्यसैले पनि काठमाडौं महानगरले शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधर साख्वाः तथा नागरिक अगुवा पदमरत्नको शालिक अनावरण गर्न जायज ठान्यो ।

प्रत्येक सकारात्मक परिवर्तनलाई राजनीतिक मुद्दा बनाउनु आवश्यक छैन । सम्पूर्ण राजनीतिक दलले जनताकै मुद्दालाई उठाउनुपर्ने हो । तर रत्नपार्कबाट शंखधर उद्यान बनेको विषयलाई अमुक राजनीतिक पार्टीले निहीत स्वार्थको लागि मात्र मुद्दा बनाएकोमा दुईमत छैन ।

सत्तापक्ष र प्रतिपक्षका अधिकांस नेता, रैथाने, सामाजिक अभियन्ता लगायतले शंखधर उद्यानलाई स्वीकार गरिरहँदा अमुक पार्टीको रत्नपार्कको मुद्दा कतिको जनताप्रति उत्तरदायी छ भन्ने बुझ्नु जरुरी छ । जनतामुखी र जिम्मेवार पार्टीको रत्नपार्कको मुद्दा हुनै सक्दैन अथवा भनौं हुनुहुँदैन ।

त्यसैले विरोधको नाममा विरोध मात्र गर्ने होइन, जनताको भावना अनुकूल मुद्दा बनाइनुपर्छ भन्ने हो । यसले पार्टीलाई उँभो लगाउनेछ । वंश र परिवारमा सीमित भएको मुद्दा उठाइ रहँदा जनताको भावनामा चोट लाग्नु हुँदैन, नागरिकको इच्छा मार्न पाइँदैन।
(लेखक नृपेन्द्रलाल श्रेष्ठ लहना साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुनुहुन्छ।)
प्रकाशन मिति–२०७७ साल मंसीर १६ गते मंगलवार ।