काठमाडौ। नेपालमा राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाउने कार्य भएको छ। विक्रम संवत् २०६२–६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो।

ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए। नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाए। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए।

शासन सत्ता आफ्नै हातमा लिएका ज्ञानेन्द्रले केही नेताहरुलाई जेल हाले। सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो।

राजधानी काठमाडौंमा मानवसागर उर्लियो। आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो। अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे।

आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यस दिनको संझना गरेर लोकतन्त्र दिवस मनाउन थालिएको हो।
प्रकाशन मिति–२०७५ साल बैशाख ११ गते मंगलवार ।