Barak Obama
Barak Obama

वासिंटन। अमेरिकी राष्ट्रपति बाराक ओबामाले आठ वर्षअघि आफूले सत्ता सम्हाल्दाभन्दा अमेरिका हरेक हिसाबले राम्रो र सुरक्षित भएको जिकीर गरेका छन् । उनले अमेरिकी मुस्लिमविरुद्धको भेदभाद अन्त्य गरिएको दावी पनि गरे। राष्ट्रपतिका रुपमा शिकागोमा बिदाई भाषण दिंदै ओबामाले जातीय भेदभाव अन्त्यका लागि अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए।

आफ्नो कार्यकालमा ओसामा बिन लादेनलगायतका सयौं आतंककारीलाई समाप्त गरेको उल्लेख गर्दै उनले इराकबाट अमेरिकी सेनालाई फिर्ता गर्दै आर्थिक अवस्था राम्रो बनाउन सफल भएको बताए। ओबामाले बाहिरी आक्रमणप्रति अमेरिका सजग रहेको भन्दै रुस र चीनले अमेरिकासँग बराबरी गर्न नसक्ने स्पष्ट पारे।

उनले आफ्नो कार्यकालमा इरान र क्यूवासँगको सम्बन्धमा निकै सुधार आएको चर्चासमेत गरे। भावुक हुँदै उनले भने, ‘मलाई तपाईहरुले नै उत्कृष्ट राष्ट्रपति बनाउनु भएको हो।’ राष्ट्रपतिहरुबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण नै अमेरिकी प्रजातन्त्रको विशिष्टता भएको उनले बताए। प्रत्येक जनताले आर्थिक अवसर पाउने अवस्था नभए प्रजातन्त्रले काम गर्न नसक्ने ओबामाको भनाइ थियो।

Obama 1

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ५५ वर्षीय ओबामा पहिलो कार्यकालका लागि सन् २००८ मा निर्वाचित भएका थिए। सन् २०१२ मा उनले दोस्रो कार्यकालका लागि जनादेश पाए। ओबामाको स्थानमा आउन लागेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका धेरै नीति परिवर्तन गर्ने घोषणा गरिसकेका छन्। ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल पुस २८ गते विहीवार ।