काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उदघाटन गरेकी छन्। दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ ५ः५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरेकी थिइन्।

राष्ट्रपतिबाट प्रतियोगिता उदघाटन भएको घोषणा हुंदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो। समारोहमा ७ हजार ५ सयको सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी, सत्यराज आचार्यले सागको गीत गाएका थिए।

विश्वविख्यात नेपाली गायक दीपक बज्राचार्यले भने, दशरथ रंगशालालाई नै मनमगन बनाउने गरेर मनमगन गीत प्रस्तुत गर्दा सातै मुलुकका प्रतियोगी तथा सहभागीहरु मनमगन बनेका थिए। दीपक बज्राचार्यको मनमगन गायन प्रस्तुत हुंदा नेपाली कला र संस्कृतिलाई सारा रंगशालामा प्रस्तुत गर्ने जिम्मेवारी रशलाइट मिडियाकी अध्यक्ष रमिता भण्डारीको टीमले गरेको थियो। जुन अत्यन्त आकर्षक र मनमोहक बनेको थियो।

काठमाडौं पोखरा र जनकपुरमा आज आइतवार मंसीर १५ गते देखि मंसीर २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ। प्रतियोगितामा ५ सय ९४ खेलाडीको सहभागिता रहेको छ। सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ। सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो। दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर १५ गते आइतवार ।