काठमाडौंं। १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा नेपालले ७ वटा स्वर्णपदक जितेको छ। नेपालले एक रजत र ४ कास्यपदकसमेत जितेको छ। सोमबार आयशा शाक्यले दुईवटा, सिना मादेन लिम्बू, कमल श्रेष्ठ र पार्वती गुरुङ तथा महिला टिमको २३ वर्षमुनि र २३ वर्षमाथिले एक–एक स्वर्णपदक जितेका हुन्।

 

आयशाले पुम्सेको २९ वर्षमाथिको उमेर समूहमा स्वर्णपदक जितेकी हुन्। त्यस्तै, आयशा र सन्जीवकुमार ओझाको जोडीले २९ वर्षमाथिको पुम्सेमै स्वर्णपदक जितेको हो। सीनाले २३ वर्षमुनिको महिला उमेर समूहको स्पर्धामा भारतकी रुपा बयोरलाई पछाडि पार्दै स्वर्ण जितेकी हुन्। पुरुष २९ वर्षमुनिको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्णपदक जिते। पार्वतीले पुम्सेको २९ वर्षमुनिको तौल समूहमा स्वर्णपदक जितेकी हुन् ।

श्रीलंकाले रजतपदक जितेको हो। २३ वर्षमुनिको पुम्सेको महिला र २३ वर्षमाथिको पुम्सेको महिलामा नेपालले स्वर्णपदक जितेको छ।। २३ वर्षमुनि निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाले तथा २३ वर्षमाथि निता गुरुङ, सुशीला राई र प्रशंसा क्षेत्री रहेको टिमले स्वर्ण जितेको हो। तेक्वान्दोमा २३ वर्षमुनिको उमेर समूहमा कृष्णबहादुर तामाङले रजतपदक दिलाएका थिए।

२९ वर्षमाथिको पुम्सेमा रेजिन रिमालले, २३ वर्षमुनिको पुम्से जोडीमा अश्मिन राउत र सिना लिम्बू मादेन, २९ वर्षमुनिको जोडीमा जितबहादुर बोट र पार्वती गुरुङ तथा २३ माथिको पुरुष समूहमा जितबहादुर बोट, कलम श्रेष्ठ र प्रेमबहादुर लिम्बूले नेपाललाई कास्यपदक दिलाए।

त्यस्तैगरेर, करातेमा नेपालले पहिलो दिन ७ ओटा स्वर्णपदक जितेको छ।पहिलो दिन ९ स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले ७ स्वर्ण र दुई रजतपदक जितेको हो। सोमबार मण्डेकाजी श्रेष्ठले दुईवटा स्वर्णपदक जित्न सफल भएका छन्। मण्डेले एकल र टिममा गरी दुई स्वर्णपदक जितेका हुन्। अनु अधिकारी, कुसुम खड्का, विप्लवलाल श्रेष्ठ, लक्ष्मण तामाङ, महिला र पुरुषको टिम इभेन्टमा नेपालले स्वर्णपदक जितेको हो।

अनुले कुमुतेको ५० केजीमुनि समूहमा श्रीलंकाकी खेलाडीलाई फाइनलमा ८–० ले हराउँदै स्वर्णपदक जितेकी हुन्। कुसुमले कुमुतेको ४५ केजीमुनि तौल समूहमा बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन्।

विप्लवले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। कुमुतेको ५५ केजीमुनि तौल समूहमा लक्ष्मण तामाङले स्वर्णपदक जिते। स्वर्ण भिडन्तमा लक्ष्मणले बंगलादेशका खेलाडी मोहम्मद मुस्तफालाई १–० ले हराएका थिए। व्यक्तिगत पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्णपदक जितेका छन्। मण्डेले स्वर्ण भिडन्तमा पाकिस्तानका निएमातुल्हालाई पराजित गरेका हुन्।

त्यस्तै, महिला टिम कातामा नेपालले स्वर्ण जित्नेक्रममा पाकिस्तानलाई हरायो। निर्मला तामाङ, संगीता मगर र सरू कार्कीको टिमले स्वर्ण जितेको हो। पुरुष टिम कातामा पनि नेपालले स्वर्णपदक जितेको छ । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धरको टिमले श्रीलंकालाई पछाडि पार्दै स्वर्ण जितेको हो।

यस्तै, चञ्चला दनुवारले एकल कातातर्फ र सिनियर पुरुषको एकल कुमुतेमा दिवस श्रेष्ठले रजतपदक जिते। आइतबार औपचारिकरुपमा उद्घाटन भएको १३औं सागको तेक्वान्दो र करातेका खेलहरु सोमबारदेखि सुरु भएका हुन् ।
प्रकाशन मिति–२०७६ साल मंसीर १६ गते सोमवार ।