काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १६ सिट र प्रदेश नम्बर–२ मा २ सिटमा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवारहरु निर्वाचित भएका छन्।

प्रदेश नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इन्दिरा देवी गौतम, गोपीबहादुर सार्की आछामी र देवेन्द्र दाहाल निर्वाचित भएका छन्।प्रदेश नम्बर २ मा नेकपाका तुलसा कुमार दाहाल र राधेश्याम पासवान र राजपाका शेखर कुमार सिंह र मृगेन्द्र कुमार सिंह यादव विजयी भए।

यस्तै ३ नंबर प्रदेश बागमती प्रदेशबाट नेकपाका गंगा कुमारी वेलवासे र बेदुराम भुसाल निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट नेकपाका भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट नेकपाका बिमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराईले जित हात पारे।

कर्णाली प्रदेशबाट नेकपाका सुमित्रा विसी र मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदादेवी भट्ट र तारामान स्वाँर निर्वाचित भएका छन्।
प्रकाशन मिति–२०७६ साल माघ १० गते शुक्रवार ।