काठमाडौ। रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको दुःखद निधन भएको छ। रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा विहीवार गएराति ८६ बर्षको उमेरमा निधन भएको हो।

नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन्। सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी अधिकारी विवाह गरेर कोइराला परिवारसँग जोडिन पुगेकी थिइन्। तारिणीप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा रेडियो स्थापना भएपछि कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए।

त्यतिबेला उनको उमेर १६ वर्षको थियो। उनले बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट गीत गाएकी थिइन्। विसं.२००७ साल चैत्र २० गते प्रजातन्त्रको स्थापनापछि काठमाडांमा रेडियो नेपालको स्थापना गरिएको थियो। केही समयका लागि रानुदेवी पनि काठमाडौंमा आएर सिंहदरबारबाट गीतहरु गाएकी थिइन्।

त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुईवटा गीत क्रान्तिकारी थिए। त्यसपछि शुरु भएको पञ्चायती व्यवस्थामा उनका ती क्रान्तिकारी गीत प्रतिबन्धित समेत गरिएका थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख १९ गते शुक्रवार ।