काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक शंखधर सख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन पारेर विहीवार शंखधर दिवस मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित डल्लु लिंकरोड स्थित लखतीर्थमा न्हूँद ११४० मूल समारोह समितिको आयोजनामा शंखधर दिवस मनाएको हो।

लखतीर्थमा शंखधरको शालिक निर्माण गरिने भएको छ। त्यसको लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शंखधर उद्यानमा शंखधरको शालिक निर्माण गर्ने प्रक्रियालाई महानगपालिकाले अघि बढाएको बताएको छ।  ‘शंखधर उद्यानमा राष्ट्रिय विभूति शंखधरको शालिक निर्माणका लागि महानगरपालिकाले बजेट छुट्याएको छ,’ उनले भने, ‘शंखधरको शालिक निर्माणमा उहाँको तस्बिरमा एक रुपता कायम होस् भनी त्यो तयारीमा पनि महानगरपालिका जुटेको छ।’

त्यसैगरी मेयर शाक्यले शंखधर राष्ट्रिय विभूति भएको स्मरण गराउँदै उहाँको सम्झनामा तखतिर्थमा पुर्ननिर्माणका लागि खरिद प्रक्रिया अघि बढाई सकेको पनि जानकारी दिए। उनले त्यहाँको छेकवारका लागि करीब पाँच लाख बजेट महानगरले दिएको पनि जानकारी गराए। स्वयम्भू नजिकबाट बगेर आएको पानी लखतिर्थबाट विष्णुमतिमा मिसिएको र त्यहाँको बालुवामा सुन भेटिएपछि त्यसलाई शंखधरले सबैको साझा बनाएपछि उनको सम्झनामा लखतिर्थको ढुंगामा उनको मुर्ति बनाई सम्मान गरेको इतिहास छ।

मेयर शाक्यले विहीवार नै शंखधर दिवसकै अवसरमा काष्ठमाण्डप सामुदायिक अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा पनि शंखधरको सम्झना गरेका छन्। सोही कार्यक्रममा बोल्दै मेयर शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’लाई राजनीतिक रङ नदिन सुझाव समेत दिएका छन्। ‘अकुपाईँ टुँडिखेल अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी आएको छ,’ उनले भने, ‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ।

टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि हो। तर, अभियानको बाहनामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन।’ हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले पनि सक्दो प्रयास गर्ने भन्दै टुँडिखेलमा राजनीति नगर्न आग्रह समेत गरे।

मेयर शाक्यले नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानप्रति संकेत गर्दै भने– ‘आफु रक्षामन्त्री रहेका बेला सेनालाई संरचना निर्माण गर्न अनुमति दिने अनि अहिले सरकारमा नभएको मौका छोपेर टुँडिखेल मिचियो भन्दै हल्ला गर्ने कुरा राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन,’ मेयर शाक्यले भने, ‘दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो। ती संरचनाका निर्माण पूरा हुँदैछन्। ती संरचना पूरा हुने वित्तिकै खुलामञ्च खाली हुन्छ।’

मेयर शाक्यले संरचना निर्माण भएसँगै खुलामञ्च खाली हुने भएपछि त्यसको जस लिने होडबाजीमा अभियान सञ्चालन गरिएको त होइन भनी आशंका समेत व्यक्त गरे।
प्रकाशन मिति–२०७६ साल कात्तिक २१ गते विहीवार।