Petrol Pump Lokanthaliकाठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोलपम्पमा मंगलबार साँझ आगोलागी भएको छ। ध्रुव महर्जनद्वारा सन्चालित सिद्धार्थ पेट्रोलपम्पमा भएको आगोलागीमा परी चारजना घाइते भएका छन्।

पम्पसँगै पसल गरी बस्ने सीता तामाङ जलेर घाइते भएकी छन् भने उनका श्रीमान राम तामाङ, मजदुर निराजन उप्रेती र ट्यांकरका सहचालक पवन श्रेष्ठ भाग्नेक्रममा घाइते भएका छन् । घाइतेमध्ये तीनजना उपचारपछि घर फर्केका छन् भने सीता तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी बिट थिमीले जनाएको छ।

पम्पमा रहेको अग्नि नियन्त्रक यन्त्र र भक्तपुर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।