काठमाडौं। वडा अध्यक्ष आफै विहान विहान ट्राक्टर चलाएर नगरमा थुप्रेको फोहर उठाउने कार्यमा सक्रिय गजबकै खवर बनेको छ। पूर्वी नेपालको पाँचथरको फिदिम बजारमा विहानै फोहोर उठाउने ट्याक्टर चलाउने कार्य फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङले गर्दैआएका छन्। यसरी वडा अध्यक्ष गुरुङ आफैले ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुगिसकेको नागरिक न्यूजको खवरमा रहेको छ।

नागरिक न्यूजका अनुसार, फोहर उठाउने ट्राक्टर चालक कुमार खवास विरामी भएर थला परेपछि चालकको अभावमा जनताको सेवामा वडा अध्यक्ष गुरुङ आफै त्यसरी लागेका हुन्। यो पुस महिनाको अत्यन्त चिसोमा समेत विहानै फोहोर उठाउने ट्याक्टर चलाउदै वडा अध्यक्ष टोल टोल पुगेको यो फोटो यतिवेला समाजिक सञ्चालमा चर्चित बन्दै गएको छ।

वडा अध्यक्ष गुरुङले फिदिम बजारमा फोहर उठाउने गाडीमात्र दौडाइ रहेका छैनन्, बजारलाई फोहोर हुन नदिन स्थानियलाई सचेत समेत गराउँदै छन्। फिदिम नगरपालिकाले बनाएको बजार व्यवस्थापन गर्ने समितिको संयोजक समेत रहेका गुरुङले बजारलाई व्यवस्थित र सफा राख्न प्रयास गरिरहेको भनेका छन्। यसले गर्दा पनि फिदिम बजारवासीको नजरमा वडा अध्यक्ष प्रकाश गुरुङ आँखाको नानी बनेका छन्।

दिनभर वडा अध्यक्षको हैसियतले वडा कार्यालयमा जनताको सेवा गर्ने र विहानभर नगरमा थुप्रिएको फोहर संकलन गरेर नगरको सफाईमा व्यस्त वडा अध्यक्ष गुरुङको तारिफ गर्दै फिदिवासीहरुले वडा अध्यक्ष होस् त प्रकाश गुरुङ जस्तो भन्न थालेका छन्।
प्रकाशन मिति–२०७५ साल पुष १३ गते शुक्रवार ।