काठमाडौं। वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएको आमाघरलाई सहयोग प्रदान गरिएको छ। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण आमाघरलाई समस्या भएको समाचार भिजन संसार डटकममा प्रकाशित भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट सहयोग गरिएको हो।

अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट पठाइएको आर्थिक सहयोग अर्गनाइजेसनको नेपाल च्याप्टरका प्रतिनिधिहरुले आमाघरकी संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। आमा घरको लागि भन्दै अमेरिकाको मेरिल्यान्डमा बसिरहेका सुमन कुमार सिंह (सुमन नेवाः)ले प्रदान गरेको एक हजार डलर (नेपाली १ लाख २० हजार रुपैयाँ) आइतबार आमाघरका आमा दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।

नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन,सचिव महर्जन रत्न, सुदाय शिलाकार र कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले आमाघरकी संचालक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन। आमाघरकी संचालक समाजसेवी दिलशोभा श्रेष्ठले अर्गनाइजेसन र सुमन नेवाःप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।

प्रकाशन मिति–२०७७ साल जेठ २५ गते आइतवार ।