डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर । शुद्ध शाकाहारी अनि सवैका भलोकारी तथा उपकारी ।।

–निशान बुढाथोकी
डडेल्धुरा । दुई विषयमा मास्टर्स डिग्री अनि कम उमेरमा मेयर बनेका संभवत पहिलो नेपालका मेयरहरुमा डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा हुन्। नागरिकताको नाम विश्वेश्वरप्रसाद ओझा भएतापनि विपिन ओझा नामवाट चिनिएका मेयर ओझाले योगविज्ञान र राजनीतिशास्त्रमा मास्टर्स डिग्री हासिल गरेका छन्।

उचित आहार, विहार र सोचका धनी ४० बर्षिय तन्नेरी मेयर विपिन ओझा शुद्ध शाकाहारी मेयरका रुपमा पनि कहलिएका छन्। सवैको भलोकारी तथा उपकारी मनका धनी मेयर ओझाले पाँच बर्षअघि आफू मेयर हुनुअघि स्थानीय नगरवासीको घरदैलोमा पुगेर भोट माग्दा गरेका सम्पूर्ण वाचाहरु पूरा गर्ने कार्य आफूवाट भएको सगौरब बताउंछन्।

विसं २०३७ मा बाबु पदमराज ओझा र आमा रत्नादेवी ओझाको कोखबाट डडेल्धुरा अमरगढी–८ खुल्लेकमा जन्मिएका मेयर ओझाले निर्वाचित भएर आएयता पाँच वर्षभित्र एक घर एक खानेपानीको धारा निर्माण गर्ने योजना लगायत बेरोजगार युवाका लागि कृषिमा आधुनिकीकरण गरी वैज्ञानिक र व्यावसायिक कृषि खेती सञ्चालन गरी रोजगार र व्यावसायिक बनाउने लक्ष्य लिएका थिए । त्यस्तै, विभिन्न विकास निर्माणका कार्यमा पनि अब्बलता हासिल गरेका ओझा विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए ।

मेयर ओझा २०५१ सालमा नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । राजनीतिमा निरन्तर रुपमा विभिन्न निकायमा निर्वाचित हुँदै आएका ओझाले २०५३ सालमा प्रा क कोषाध्यक्ष, सचिवको जिम्मेवारी समालेका थिए । उनले अनेरास्वयूको डडेल्धुरा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उपाध्यक्ष, केन्द्रीय सदस्य हुँदै महाकाली इन्चार्ज समेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

मेयर ओझाले अमरगढी नगरपालिकालाई सबल समृद्ध बनाउनाका साथै यहाँको बेरोजगारी हटाउने मतदातासँग गरेका प्रतिबद्धताअनुसार आफूले गरेको वाचा पूरा गर्न सफल भएको बताएका छन्। नगरपालिकालाई समृद्ध र आकर्षक र सुन्दर नगरी बनाउनाका साथै युवालाई रोजगारी दिलाउनका लागि विशेष पहलकदमी गर्नाका साथै आधुनिक कृषि परियोजना लागू गरी व्यावसायिक खेतीको सुरुवात गरिएको खुलासा पनि मेयर ओझाले गरेका छन्।

विसं २०६२ मा उनी शिक्षा क्याम्पस डडेल्धुरामा स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए भने २०६५ सालको स्ववियु निवार्चनमा सोही क्याम्पसमा सभापतिसमेत निवार्चित बनेका मेयर ओझा गाउँमै रहेको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, असल शासन क्लबको अध्यक्ष हुँदै गैरसरकारी संस्थामा समेत काम गरेको अनुभवले अमरगढी नगरपालिकालाई आकर्षक पर्यटकीय र नमुना नगर बनाउन मेयर ओझालाई सहजता भएको हो ।

ओझा नेकपा (एमाले) डडेल्धुराको नगर वडा कमिटी उपसचिव हुँदै नगर कमिटी सदस्य, रहँदै हाल अमरगढी कमिटीका अध्यक्षसमेत रहेका छन् । नेपाली कांग्रेसको गढ मानिएको अमरगढी नगरमा विपक्षीहरुलाई पनि खुशी बनाएर अगाडि बढ्न सफल मेयर भएका कारण लोकप्रिय तथा जनप्रिय मेयरका रुपमा चिनिएका छन्। सवैको नजरमा मेयर ओझा छन्। सवैको विश्वास अनि भरोसा हुन सफल भएका छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल चैत २० गते आइतवार ।