काठमाडौं। शालिन तथा सौम्य स्वभावका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो।

काठमाडौं जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो। यसअघि, सोमबार महराको पक्षमा रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए।

अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भने महरा इजलासमै भावुक बन्दै भक्कानिएका थिए। महराका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए। छोराहरु रोएपछि महरा अझ भक्कानिएका थिए।

इजलासमा महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन्। न्यायाधीशले रोशनी शाहीलाई बोल्न नदिएपछि रोशनीलाई महराका सहयोगीहरुले गाडीमा चढाएर फर्काएका थिए।
प्रकाशन मिति–२०७६ साल कात्तिक १८ गते सोमवार ।