काठमाडौ। काठमाडौलाई उन्नत तथा समृद्ध शहर बनाएर मौलिकता जगेर्ना गर्न कटिवद्ध काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनको घोषणा–पत्रमा नै काठमाडौमा मोनोरेल गुडाउने उल्लेख गरेका थिए। सडकमाथि गुड्ने रेललाई नै मोनोरेल भन्ने गर्दछ।

ट्राफिक जाम तथा ट्राफिक अस्तव्यस्तताका कारण हैरान काठमाडौबासीलाई मोनोरेलले राहत दिने मेयर शाक्यको ठहर रहेको छ। यसले गर्दा पनि आफूले निर्वाचनको घोषणा पत्रमा नै मोनोरेलको प्रस्ताव गरेको र हाल त्यसको लागि काठमाडौ महानगरपालिकाले कार्य प्रारम्भ गरिएको मेयर शाक्यले भनेका छन्।

यसैवीच काठमाडौमा मोनोरेल गुडाउन काठमाडौ महानगरपालिकामा चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको बुझिएको छ। चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको काठमाडौ महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले खुलासा गरेका छन्।

काठमाडौ उपत्यकाको चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि हाल छलफल भैरहेको पनि उनले भनेका छन्। उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ।

मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ। मेयर शाक्यले देखेको काठमाडौको सडकमाथि मोनोरेल गुडे्को सपना यो प्रस्तावले मूत्र्तरुप लिएपछि पूरा हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख १५ गते शनिवार ।