काठमाडौ। नेपालको केन्द्र अनि सवैको आशा तथा भरोसा काठमाडौलाई सुन्दर तथा अकल्पनिय शहर निर्माण हुने भएको छ। त्यसका लागि काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अहोरात्र खटिरहेका छन्।

मौलिक अनि परम्परागत विश्वकै अतुलनिय शहरको रुपमा विकास गर्न यस शहरको मौलिकतालाई कतैपनि नविगार्ने संरचनामा काठमाडौ निर्माण गर्न आफू लागिरहेको भिजन संसारसंगको भेटमा मेयर शाक्यले भनेका छन्।

विकास निर्माणका क्रममा पुराना संरचनालाई भत्काएर नयाँ संरचना निर्माण गर्ने क्रममा रत्तिभरपनि मौलिकतामा कमी आउन नदिने अठोट आफ्नो रहेको जिकिर गर्दै मेयर शाक्यले कान्तिपुरी नगरी काठमाडौको चिनारी तथा परिचय बनेको काष्ठमण्डप, धरहरा र रानीपोखरीको संरचना जस्ताको तस्तै हुने तथा आधुनिकताको नाममा परम्परागत संरचना नष्ट नहुने र गर्न नदिने आफ्नो अठोट नै रहेको भनेका छन्।

मेयरको निर्वाचनको बेलामा आफूले काठमाडौ महानगरपालिकाका जनता समक्ष अठोट गरेका १ सय १ मात्र होइन, १ सय १५ कार्य नै गरेर देखाउने कार्यमा आफू लगभग सफल भैसकेको तथा आफूले त्यसको प्रचार मात्र नगरेको मेयर शाक्य भन्छन्। मेयर सोझो तथा इमान्दार भएको कारण कर्मचारीहरुले साथ नदिएको र काम गर्न कठिन भैरहेको कुरा सही भएतापनि त्यस्ता कर्मचारीहरुलाई ठेगान लगाउने कार्य भैसकेकोले अव काम गर्न कठिन नभएको मेयर शाक्यले भनेका छन्।

काठमाडौ महानगरलाई समृद्ध बनाउन काठमाडौ महानगरवासी नै जाग्नु पर्ने भएकोले महानगरवासीको हरेक सही कार्य तथा सुझावमा आफू दृढ रुपमा लाग्ने प्रतिबद्धता जनाउने कार्य पनि मेयर शाक्यवाट भएको छ।


प्रकाशन मिति–२०७५ साल बैशाख १४ गते शुक्रबार ।