काठमाडौं। नेपाल टेलिभिजनको काँचको पर्दामा सर्वाधिक लोकप्रिय मानिएको हांस्य सिरियल हिजो आजका कुरा हिजो आज नआएको पनि धेरै भैसकेको छ। यो सिरियल त्यो बेला देखि यो बेलासम्म पनि सवैको मनमा प्रिय नै हो।

यिनै प्रिय सिरियललाई सन्तोष पन्तले टेलिसिरियलका रुपमा नभइकन चलचित्रमा रुपान्तरण गरेका छन्। अर्थात हिजो आजका कुरा नामवाटै चलचित्र वनाएर हिजो आजका कुराको त्यो ख्यातिलाई चलचित्रमा जमाउने कोशिशमा छन्।

गत बर्षको लकडाउन अघि नै तयार भएर रिलिज गर्ने क्रममा पुगिसकेको यो चलचित्र लकडाउनको कारण रोकिएपनि अव भने प्रदर्शन गर्ने तयारीमा पुगेको छ। सामाजिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागीपरेको छ। फिल्मका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अबसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना ब्यक्त गर्दै आफूहरु फिल्म रिलिज गर्न आतुर रहेको बताएका हुन् ।

सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ । चलचित्र बिकास बोर्ड, हल संचालक, बितरक,दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफुहरु अघि बढ्न तयार रहेको उनी बताउछन । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा बरिष्ठ अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा साकार पन्त निर्देशीत फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन्।

शंभुजीत बासकोटा देखि धीरेन शाक्यसम्म तथा बसुन्धरा भुसालदेखि दीपाश्री निरौलाासम्मका एक से एक कलाकारहरुको समेत गेष्ट एपिरेनस रहेको यस चलचित्रलाई रवि सायमीले खिचेको हुन्। फिल्ममा सन्दीप किस्नाको पटकथा छ। फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।

 

प्रकाशन मिति–२०७८ साल असोज १ गते शुक्रवार ।