ललितपुर। मूर्त तथा अमूर्त संपदा प्रवद्र्धनका लागि सांस्कृतिक पत्रकारिता तालिमको आयोजना भएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा नेवाःपत्रकार राष्ट्रिय दबुले तालिम कार्यक्रमको आयोजना गरेको हो।

ललितपुरको जावलाखेल स्थित ताम्राकार समाजको भवनमा तीन दिने पत्रकारिता तालिम बुधवारवाट शुभारम्भ भएको छ। विशेषत सांस्कृतिक पत्रकारिताको आवश्यकता र महत्वको बारेमा अझ बढी उजागर गर्न र गराउन पुराना तथा नयाँ पत्रकार अनि पत्रकारितामा रुचि राख्नेहरुलाई तालिम प्रदान गरिएको जानकारी आयोजक नेवा पत्रकार राष्ट्रिय दबुका संयोजक सुनिल महर्जनले भिजन संसारलाई बताएका छन्।

संयोजक महर्जनले सांस्कृतिक पत्रकारिता तालिम पश्चात पत्रकारहरुले सांस्कृतिक महत्वका विषयलाई गहन ढंगवाट प्रस्तुत गरेर मूर्त र अमूर्त यथार्थतालाई जनसमक्ष ल्याउने दावी गरेका छन्। पहिलो दिनको तालिम कार्यक्रममा पत्रकारिताका बरिष्ठ प्राध्यापक रामकृष्ण रेग्मीले सांस्कृतिक पत्रकारिताभित्रका विषयगत तालिम प्रदान गरेका थिए।

जसमा संस्कृति, चाडपर्व, जीवनशैली, कथाहरु, प्रचलन–संस्कार, सांस्कृतिक थाकथलो, संपदा लगायतका विषयमा सुक्ष्म भन्दा सुक्ष्म विषयलाई औल्याएर पत्रकारहरुलाई प्राध्यापक रेग्मीले दिशावोध गर्ने तालिम दिएका हुन्।

सांस्कृतिक पत्रकारिता तालिममा पत्रकारहरु सुरजवीर बज्राचार्य, राजेश बज्राचार्य, सुरेन्द्रभक्त श्रेष्ठ, नातिकाजी महर्जन लगायतले मूर्त तथा अमूर्त संपदाको व्यापक बहस समेत गरेका थिए। तालिम कार्यक्रम असार २२ गते शुक्रबारसम्म संचालन हुने भएको छ।


प्रकाशन मिति–२०७५ साल असार २० गते बुधवार ।