ललितपुर। सांस्कृतिक पत्रकारिता तालिम भित्र पनि पत्रकारिता गजबले भएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा नेवाःपत्रकार राष्ट्रिय दबुको आयोजना आयोजित सांस्कृतिक पत्रकारिता तालिम भित्र पत्रकारिता भएको हो।

ललितपुरको जावलाखेलस्थित ताम्राकार समाजको भवनमा आयोजित सांस्कृतिक पत्रकारिता तालिमका क्रममा काठमाडौवाट प्रसारित इमेज एफएमका बरिष्ठ कार्यक्रम संचालक तथा मल्टी ट्यालेन्टेट पत्रकार सुरजबीर बज्राचार्यले तालिमका क्रममा लाइभ रिपोर्टिङ प्रस्तुत गरेर पत्रकारिता तालिम भित्रको पत्रकारिता गरेका हुन्।

तालिम अभ्यास तथा प्रशिक्षणको मौकालाई अवसरको रुपमा पत्रकार बज्राचार्यले रेडियो लाइभ गरेर बेजोड तालिम दिएका थिए। तालिम कार्यक्रमका संयोजक पत्रकार सुनिल महर्जनदेखि सहभागी अन्य पत्रकारहरु लगायत पत्रकारिता तालिममा सहभागी सगरमाथाको सफल आरोहण गरेर गरिमा बढाउन सफल पत्रकार कल्पना महर्जनसंगसम्मको कुराकानी प्रस्तुत गरेर पत्रकार बज्राचार्यले सवैलाई चकित बनाउने कार्य भएको हो।

अर्कोतर्फ नेपालभाषाका ख्यातिप्राप्त बरिष्ठ पत्रकार सुरेश किरणले समाचार लेखन तथा समाचारको खोज अनुसन्धानका विषयमा पत्रकारहरुलाई गहकिलो तालिम प्रदान गरेका थिए। साथमा पत्रकारिताका बरिष्ठ प्राध्यापक रामकृष्ण रेग्मी देखि सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक राजु शाक्यसम्मले प्रशिक्षण दिने कार्य भएको छ।

सहभागी ३२ जना पत्रकारहरुलाई पाटनको मंगलवजार स्थित सम्पदा पूर्नरनिर्माण संवन्धी स्थलगत रिपोर्टिङ गराएर सांस्कृतिक तालिम प्रदान गर्ने कार्य समेत भएको थियो। तालिममा सहभागी पत्रकारहरुले तालिम अत्यन्त उपयोगी तथा लाभदायक भएको टिप्पणी गरेका छन्।

तालिम असार २० गतेवाट २२ गतेसम्म संचालन भएको थियो। समापन समारोह असार २४ गते आइतवार हुने आयोजक समितिका संयोजक पत्रकार सुनिल महर्जनले भिजन संसारलाई भनेका छन्।


प्रकाशन मिति–२०७५ साल असार २२ गते शुक्रबार ।