काठमाडौं। साउन ८ गते बिहीबारदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ। साउन १ गतेवाट बन्द गरिएको अनलाइन कक्षा बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले फेरि सञ्चालन गर्ने निर्णय गरेको हो। प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन आठ अर्थात् बिहीबारबाट वैकल्पिक अध्ययनको शिक्षण सुचारु गर्ने निर्णय गरेको हो।

बुधबार बसेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको निर्णयमा भनिएको छ। ‘आफ्नो पेशागत र व्यवसायिक मर्मलाई सरकारले संशोधन नगरेको र बारम्बारको अल्टिमेटम पूरा नगरेकाले प्याब्सन र एन प्याब्सनको आह्वानमा वैकल्पिक विधिको अध्यापनसमेत बन्द गरेको सन्दर्भमा अभिभावक संघ र इस्टुको समेत आग्रहमा साउन ८ गतेबाट वैकल्पिक अध्ययनको शिक्षा शिक्षण सुचारु गर्ने’, पहिलो निर्णयमा भनिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन मंगलबारबाट अन्त्य गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै निजी विद्यालयसँग सम्बन्धित संघ संस्थाले बन्द गरेको अनलाइन कक्षा चलाउने निर्णय गरेका हुन्। त्यसैगरेर, भदौ १ गतेदेखि मात्र शैक्षिक संस्था खोल्ने सरकारको निर्णय पुनःविचार गर्नसमेत माग गरेका छन् ।


प्रकाशन मिति–२०७७ साल साउन ७ गते बुधवार ।