काठमाडौं। नेवाः भनेको कुनै जात नभएको र यो एउटा नेपालमण्डलको सभ्यता र पहिचान हो भनेर आन्दोलनमा लागेको सेभ द नेवाः भ्यालीको आयोजनामा महान पर्व तिहारको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भएको छ।

सेभ द नेवाः भ्यालीका प्रमुख संयोजक तथा अगुवा शैलेश शाक्य लगंबरेजुको आयोजनामा भएको कार्यक्रममा बौद्ध विव्दान हर्षमुनि बज्राचार्यको सम्मान गरिएको थियो। सम्मान काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यवाट भएको हो।

कार्यक्रममा मेयर शाक्यले नेवाःलाई एक आपसमा लडाउने र झगडा गराउने कार्य नेवाःहरुले नै गरिरहेकोमा दुःख व्यक्त गरे। धुंलो–धुँवा तथा हिलोवाट काठमाडौंका सडकलाई जोगाउन रत्नपार्क–टुंडिखेलको बसपार्कको सडक पिच गर्न खोज्दा नेवाःपूर्वमन्त्री भीमसेनदास प्रधानको अगुवाईमा नेवाः उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र वडा अध्यक्ष भाइराम खड्गीले अवरोध खडा गरेको उदाहरण दिने कार्य मेयर शाक्यवाट भयो।

मन्त्री हुंदा काठमाडौंको विकासमा सिन्को नभाच्ने भीमसेनदास प्रधान काठमाडौंको विकास निर्माण कार्यमा अवरोध भएर आएको टिप्पणी गर्न मेयर शाक्य चुकेनन्। आयोजक सेभ द नेवाः भ्यालीका प्रमुख अगुवा शैलेश शाक्य लगंबरेजुले आफू नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएतापनि नेवाःको सवालमा पहिला आफू नेवाः भएको र नेवाःको हक, हित र अधिकारको लागि पार्टीभन्दा माथि उठेर लड्दैआएको खुलासा गरे।

आफ्नो पार्टी नेपाली कांग्रेसवाट भएका गल्ती र अवरोधको पनि खुलेर विरोध गर्ने आफू रहेको र दुईतिहाइको बर्तमान सरकारले नेवाःहरुको अस्तित्व मास्ने गरेर ल्याउन खोजेको गुठी विधेयकको विरुद्ध गोली थाप्न पनि तयार भएर आफूहरु लागेर त्यसको प्रतिकार गरेको समेत लगंबरेजुले भनेका छन्।


प्र्रकाशन मिति–२०७६ साल कात्तिक ९ गते शनिवार ।