ललितपुर । १०२ बर्षका नेपालका वरिष्ठ संस्कृतिविद् डा.सत्यमोहन जोशी एघार दिनको उपचार पश्चात स्वास्थ्यलाभ गरेर घर फर्केका छन्। एघार दिनअघि गत जेठ २६ गते ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि इमाडोल स्थित किष्ट अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरेर घर फर्केका हुन्।

ललितपुरको बखुम्बहालस्थित निवासमा स्वास्थ्यलाभ गरेर शुक्रवार फर्केपछि घरैमा आराम गरिरहेको जानकारी डा.जोशीका भतिज ललितपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले दिएका छन्। उपचारका क्रममा डा.जोशीको छातीमा संक्रमण, मुटुको चालमा गढबडीका साथै रक्तचापमा कमी देखिएको थियो । अहिले रक्तचापलगायतमा देखिएको गडबडी नियन्त्रणमा आइ हिँडडुल गर्नसक्ने भएपछि उपचारमा संलग्न चिकित्सकहरुले अस्पतालवाट डिस्चार्ज गरेर घर फर्काएका हुन्।

शताव्दी पुरुष डा.जोशीको उपचारमा प्रा.डा.मिलेशजंग सिजापतिको नेतृत्वको कार्डीयोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको ५ जनाको टोली खटिएका थिए ।
छाती रोग विशषेज्ञ प्रा.डा.सिजापतिले स्वास्थ्य अवस्था सामान्य भएर साबिक सरह खानपिन हिँडडुल गर्न थालेकाले मुटुको औषधि दिएर डिस्चार्ज गरेको बताए । ‘उनी प्रेसर, सुगर, दमजस्ता रोगबाट मुक्त छन्,’ उनले भने, ‘नियमित व्यायाम, खानपिनमा ध्यान दिएकै कारणले स्वास्थ्य राम्रो भएको हो।’

डा.जोशीको पीसीआर परीक्षणमा गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तैपनि निमोनियाको संक्रमण देखिएकाले सुरुमा एन्टिबायोटिक चलाइएको थियो । अब जोशीलाई एक सातापछि फलोअपका लागि चिकित्सकको टोलीले सम्पर्क गर्ने किष्ट अस्पताल प्रशासनले जनाएको छ।

किष्ट अस्पतालले विसं.२०७६ मा समाजमा पुर्‍याएको योगदान कदर गर्दै उनी र उनकी धर्मपत्नीको सम्मान स्वरुप निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो। विगत ८ महिनादेखि जोशीको निवासमा प्रत्येक महिना चिकित्सकको टोली पुगेर स्वास्थ्य जाँच गर्दै आइरहेको छ। त्यसक्रममा गत जेठ २६ गते जोशीले ज्वारो र श्वास फेर्न गाह्रो भएको बताएपछि अस्पतालमा उपचारका लागि लगिएको थियो।

प्रकाशन मिति–२०७८ साल असार ४ गते शुक्रवार ।