बेसीशहर । हिमाली जिल्ला मनाङ र लमजुङलाई सडक–वाटोवाट जोड्ने एकमात्र सडकमार्ग बेसीशहर–चामे सडक खुलेको छ। नासो गाउँपालिका–१ तालस्थित म्यार्दीभीरको पहिरोले १७ दिनदेखि अवरुद्ध सडक शनिबार साँझबाट सञ्चालनमा आएको हो।

करिब १०० मिटर माथिबाट आएको ठूला–ठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध बनाएको सडक १० दिनको प्रयासपछि खुल्न सफल भएको छ। पहिरोले १२० मिटर सडक नै भत्काएपछि तत्काल सडक खुलाउने प्रयास गरिए पनि ठूला–ठूला ढुङ्गा हटाउन र फोर्न नसकिएपछि ८० वटा बम ब्लाष्ट र ब्रेकर लगाएर सडक सञ्चालन गर्न सफल भएको सडक डिभिजन कार्यालय दमौलीका सवइञ्जिनीयर सुमन अधिकारीको भनाई रहेको छ।

पहिलाको सडक नै पत्ता नलाग्ने गरी सडक भत्किएपछि ‘ट्र्याक’ खोलेर सडक निर्माण तथा मर्मत गरिएको छ। सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने यथावत रहेको सडक डिभिजन कार्यालय, दमौली तनहुँले जनाएको छ ।

सडक डिभिजन कार्यालयले सडक सञ्चालन गर्न सफल भए पनि लमजुङ र मनाङको सीमानामा रहेको म्यार्दी खोलामा पुल निर्माण सम्पन्न हुन नसक्दा खोलाबाट साना सवारी साधन तर्न नसकेको र ट्रक, ठूला ट्र्याक्टर मात्रै खोलाबाट तर्न सकेको सवइञ्जिनीयर अधिकारीले बताएका छन्। यस सडकमा दैनिक यात्रु बोक्ने ३५ सवारी साधन आवतजावत गर्ने गर्दछन् ।


प्रकाशन मिति–२०७६ साल भदौं २९ गते आइतवार ।