काठमाडौ। २१ औं संस्करणको रसियामा भैरहेको विश्वकपको शुक्रवार राति नेपाली समय अनुसार भएको खेलमा पोर्चुगल र स्पेनको खेल बराबरीमा टुंगिएको छ। दुबै टिमले ३–३ गोल गरेर अंक बाँडेका हुन्।

यो खेलमा पोर्चुगलको तर्फवाट क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए । स्पेनका खेलाडी नाचोले डी एरियाभित्र रोनाल्डोलाई लडाएपछि प्राप्त पेनाल्टी उनै रोनाल्डोले सदुपयोग गरे। त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए।

तर ४४ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–१ को अवस्थामा पुर्‍याए। खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ३ मिनेटपछि नै नाचोले गोल गरेपछि स्पेन ३–२ को अवस्थामा पुग्यो। तर खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा स्पेन अंक बाँड्न बाध्य भयो।

डी एरियाबाहिर रोनाल्डोलाई स्पेनी खेलाडीले लडाएपछि पाएकोव फ्रीकिकमा उनै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरे र स्पेनसँग अंक खोस्न सफल भए । खेलपछि स्पेन र पोर्चुगल दुबैले १–१ अंक जोडेका छन् । शुक्रबार नै भएको समूह बी अन्तर्गत इरान र मोरक्कोबीचको खेलमा इरानको जीत भएको छ। मोरक्कोलाई १–० ले निराश बनाउँदै इरानले ३ अंक जोड्न सफल भएको छ।
प्रकाशन मिति–२०७५ साल असार २ गते शनिवार ।