काठमाडौ। ३ नंबर प्रदेशका सांसद डा.अजयक्रान्ति शाक्यले विकास जादूको छडी नभएको र विकास हुन केही समय लाग्ने तथा हल्लाको पछि नलाग्न भनेका छन्। सांसद डा.शाक्यले आफ्ना मतदाताहरुलाई
केही समय धैर्य गर्न पनि आव्हान गरेका छन्।

काठमाडौंको बल्खुमा आयोजित निःशुल्क आँखा जाँच शिविर उदघाटन समारोहमा सांसद डा.शाक्यले उक्त आव्हान गरेका हुन्। मन्तव्यका क्रमममा सांसद डा.शाक्यले बर्तमान सरकारले विकास–निर्माणको महाअभियान नै शुरु गरिसकेको र यसको परिणाम केही बर्षमा देखिने बताउंदै पाँच बर्षभित्र उल्लेखनिय कार्य गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

चुनावको बेला मतदातासमक्ष गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार अहोरात्र खटिरहेको जानकारी दिदै सांसद डा.शाक्यले केही मिडिया तथा सोसल मिडियाको दूरुपयोग गरेर केही विपक्षीले सरकारलाई खुइल्याउने गरेर भ्रम तथा झूठको खेती गरिरहेको खुलासा गरे। त्यसको पछाडि नलागिकन सत्यलाई आत्मसात गर्नु आवश्यकता रहेको भनाई डा.शाक्यको रहेको छ। बर्तमान सरकार नेपाली जनताको भएकोले जनताको हित र कल्याणवाहेक यो सरकारले अरु सोच्न नसक्ने पनि डा.शाक्यले जिकिर गरे।

त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज र जानको आयोजनामा निःशुल्क आँखा जाँच शिविर भएको हो। जसमा ७५ जनाले आँखा जाँच गरेका थिए। आँखा शिविरमा प्रमुख अतिथि सांसद डा.शाक्य लगायत काठमाडौ महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटा लगायतले पनि आँखा जाँच गराएका थिए। कार्यक्रममा आयोजक जानका अध्यक्ष डा.रामचन्द्र भुसालले आफ्नो संस्थाको गतिविधि वारेमा जानकारी दिएका थिए। जानकी महासचिवन शान्तिलक्ष्मी शाक्यले स्वागत मन्तव्य राखेकी थिइन्।
प्रकाशन मिति–२०७५ साल मंसीर ९ गते आइतवार ।