Earthquake

काठमाडौ। सोमवार विहान ५ बजेर २० मिनेट जांदा गएको भूकम्पको कारण आमादब्लम हिमाल आरोहण गर्न गएका आरोही लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ। सोलुखुम्बु, रामेछाप र दोलखाको सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाएको गएको ५.६ रेक्टर स्केल भूकम्पको कम्पनको कारण आमादब्लम हिमाल आरोहणको क्रममा माटिवाट आएको ढुंगासहितको ढिस्को खसेर लाग्दा शेर्पाको मृत्यु भएको नेपाल समाचारपत्र दैनिकले उल्लेख गरेको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेका अनुसार भूकम्पको कारण खसेको चट्टान लागेका खुम्जुङ्ग गाविस पाङ्गबोचे घर भएका शेर्पाको निधन भएको हो। सोमवार विहानै गएको भूकम्पले काठमाडौ उपत्यका लगायत भगवान बुद्धको जन्मस्थल लुम्विनीमा समेत धक्का महशुश गरिएको थियो। भूकम्पको कारण काठमाडौमा सवैलाई भयभित पारेको थियो।

भूकम्पको कारण आरोही शेर्पाको मृत्यु वाहेक अरु कुनै अप्रिय घटना भने भएको छैन्। सोमवारको भूकम्प पनि गत बर्ष २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १४ गते मंगलवार ।