काठमाडौ। नेपाली चलचित्र उद्योगमा निरन्तर ४५ बर्षको इतिहास कायम गर्न सफल कलाकार तथा कला निर्देशक जुंगे भट्टराई यतिखेर उमेरको हकमा ६२ बर्षको उकालोमा रहेका छन्।

जति उमेरको उकालोमा रहेतापनि उही पुरानो जोश तथा जांगरका साथ निरन्तर कला–यात्रामा तल्लिन कलाकार भट्टराईको लामो न लामो जुंगा पनि यतिखेर तिनचामले बनिसकेको छ। यानी हिमाल जस्तै सेताम्मे बनिसकेको छ। कालो कलर गर्न जुंगेलाई फुर्सद नै भएको छैन्।

काठमाडौको नरदेवी ताम्सीपाखा लिंकरोडमा रहेको निवासमा यतिखेर जुंगे नालापानीलाई सिउन व्यस्त बनिरहेका छन्। चलचित्र नालापानीका कला डिजाइन गर्न व्यस्त जुंगे नालापानीका हिरो बलभद्र कुंवर देखि राजा गिर्वाणयुद्ध विक्रमसम्मका नालापानी कालिन टोपी तथा श्रीपेज बनाउन जुंगे अत्यन्त व्यस्त बनिरहेका छन्।

हातैले सिलाएर १ सय २१ वटा नालापानीको टोपी बनाइसकेका उनी राजा गिर्वाणयुद्ध विक्रम शाहको टोपी सिउन व्यस्त देखिएको पाइयो। साथमा उनलाई उनको जीवन संगीनी लक्ष्मी भट्टराईको पनि साथ र सहयोग रहेको छ।

नथाकुन्जेल काम गर्ने थाकेपछि त्यही सुटुक्क सुत्ने हिजोआज उनको दिनचर्या नै भएको छ। सानो कोठा प्राय जुंगेको कला सिउने पाठशाला जस्तै बन्ने गरेको छ। जसमा तीन छोराहरु कुबेर, योगेश, लोकेन्द्र र एकमात्र छोरी उत्तराको पनि सहयोगले जुंगेको कलाको कामले निरन्तरता पाइरहेको छ।

ऐतिहासिक नेपाली चलचित्रका प्राय कलाका काम जुंगेले नै गर्दैआएका छन्। हातैले सिलाएर काम गर्ने बेजोड कलाको कारण जुंगेको कला सर्वत्र लोकप्रिय रहेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २१ गते सोमवार ।