काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको महानगरपालिकाको टोलीले महानगर क्षेत्रभित्रका कुकुर, बाँदर, परेवा लगायतका पशुपन्छीलाई आहारा वितरण गर्न सम्पदा क्षेत्र पुगेका छन्।

कतै महानगरका मेयर शाक्य कुकुरलाई खाना खुवाउंदै गरेको दृश्य भेटियो भने, कतै उपमेयर श्रेष्ठ वाँदरलाई अन्न खुवाउंदै गरेको पाइयो। काठमाडौं महानगरपालिकाभित्र पर्ने भगवान स्वयम्भुनाथ, पशुपतिनाथ, बौद्धनाथ, हनुमानढोका दरवारक्षेत्र लगायतमा पुगेर मेयर तथा उपमेयरको टोलीले पशुपन्छीलाई आहाराको राहत वितरण गरेको पाइयो।

मेयर तथा उपमेयरको टोली स्वयम्भू पुग्दा वडा नंबर १५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित वडा सदस्यहरु सहभागी भएर स्वयम्भूमा रहेका बाँदर र सामुदायिक कुकुरहरुलाई खाना खुवाइएको थियो। त्यस्तै वडा नंबर ८ मा रहेको पशुपति क्षेत्रमा पुग्दा वडा अध्यक्ष दिनेश डंगोल, वडा सदस्यहरु, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदिप ढकाल, निर्देशक डा.घनश्याम खतिवडालगायत अधिकारीले पशुपति क्षेत्रमा भएका बाँदर र गाईको खानपानका बारेमा अवगत गराएका थिए।

त्यसपछि बौद्ध स्तुप क्षेत्रमा रहेका परेवालाई आहार खुवाइएको थियो । त्यस क्रममा वडा नंबर ७ का वडा अध्यक्ष दीपेन्द्र लामा, कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठसहित वडा सदस्यहरु पनि सहभागीता रहेको थियो। जैविक बिविधताको सुन्दर पक्ष जोगाउन मात्र होइन उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि आफूहरुले ४३ औं नगर कार्यपालिका बैठकबाट पशुपंक्षीको आहार व्यवस्था गर्ने निर्णय गरिएको मेयर शाक्यले बताएका छन्।

त्यसअनुरुप लकडाउनमा पशुपन्छीले पनि खान नपाएको अवस्थामा यसप्रकारको कार्यको शुभारम्भ गरिएको मेयर शाक्यले भनेका छन्। उपमेयर श्रेष्ठले आफूहरु स्थानीय सरकार भएको कारण मानिस देखि पशुपन्छीसम्म भोको छ या छैन भन्ने बुझेर उनीहरुलाई राहत दिनु आफूहरुको जिम्मेवारी भएको बताएकी छन्। सोही जिम्मेवारीलाई बहन गरेर पशुपन्छीलाई पनि राहत दिने कार्यमा आफूहरु लागेको उपमेयर श्रेष्ठले भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल चैत २९ गते शनिवार ।