काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज शुक्रवारवाट २५ दिन पुगेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन गरिएको लकडाउनले जनजीवनलाई व्यापक असर परेजस्तै चराचुरुङ्गीहरुलाई पनि त्यतिकै असर परेको छ।विशेषत स्वतन्त्र रुपमा उडिरहने शान्तिको प्रतिक परेवा लगायतका चराचुरुङ्गीलाई यो लकडाउनले मानिसलाई जस्तै असर पारेको हो। खाना अर्थात अन्न खुवाउने मानिसहरु नै लकडाउनमा परेको बेला ती चराचुरुङ्गीहरुले अन्न पाउने कुरा पनि त भएन।

त्यसले गर्दा चराचुरुङ्गीहरु निक्कै भोकाएको महशुश गरेर आज लकडाउनको २५ औं दिनमा घरवाट विहानै नेपाल प्रहरीसंग अनुमति मागेर भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकार काठमाडौंको बसन्तपुर स्थित हनुमानढोका दरवार स्क्वायर पुगेका छन्। छोरा रेक्स रञ्जितकारलाई ५ किलो चामल र आफूले एकजार पानी अनि एउटा ठूलो स्टिलको बाटा बोकेर भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकार त्यहाँ पुगेका हुन।

हनुमानढोका कालभैरब पछाडिको पटाँगिनीमा त्यहाँ रहेका नेपाली सेनाका सैनिक अधिकृतहरुसंग अनुमति मागेर हजारौ परेवाहरुलाई पाँच किलो चामल खुवाएको अनि ठूलो स्टिलको बाटामा पानी हालेर पानी पनि खुवाउने कार्य गरेको भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकारले भिजन संसार डटकमलाई बताएका छन्।

त्यसक्रममा भोकाएर हजारौ परेवाहरु आएर पाँच किलो चामल पन्ध्र मिनेटमा नै खाएर सकाएको अनि खान पाएर रमाएका परेवा भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकारको हात तथा टाउकोमा समेत बस्न आएको थियो। यसरी शान्तिको प्रतिक परेवाहरुलाई अन्न र पानी खुवाउन पाउंदा अत्यन्त आत्मिक आनन्द आएको भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकारको भनाई रहेको छ।

प्रकाशन मिति–२०७७ साल बैशाख ५ गते शुक्रवार ।