काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यका साथ अमेरिकाको न्यूयोर्कमा स्थापना भएको विशुद्ध सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिका स्थित नेपाली राजदूतावासमार्फत ज्ञापन–पत्र बुझाएको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभरका नेपालीहरुलाई परेको समस्या र त्यसको समाधानलाई उजागर गर्दै हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र बुझाएको हो।

ज्ञापन–पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवोधन गर्दै वर्तमान कोरोनाभाइरसको संक्रमणको कारण विश्व आक्रान्त बनिरहेको छ। यस संक्रमणको आक्रान्तले नेपाल र नेपाली पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मारमा परेका छन्। देशभित्र रहेका नेपालीहरुलाई यतिखेर जस्तो समस्या परिरहेको छ, त्यो भन्दा बढी परदेशमा रहेका नेपालीहरुलाई
निक्कै आक्रान्त पारेको उल्लेख भएको छ।

अमेरिका लगायत विश्वका प्राय कोरोनाभाइरस संक्रमित मुलुकमा नेपालीहरु आक्रान्त बनिरहेका छन्। उनीहरुमध्ये १५ जनाभन्दा बढी नेपालीहरुको कोरोनाभाइरसका कारण मृत्यु भैसकेको तथा कतिपय विभिन्न देशका अस्पतालमा उपचार्थ रहेको पनि केन्द्रिय अध्यक्ष लामाले जाहेर गरेका छन्।

त्यसको अलावा एकातिर कोरोनाभाइरसको संक्रमणका कारण मृत्युसंग पौठेजोरी खेलिरहेका नेपालीहरु रहेको संवन्धित देशका राष्ट्र प्रमुखहरुसंग सम्मानिय प्रधानमन्त्रीज्यूले चाँडो भन्दा चाँडो पहल गरेर उनीहरुको उपचारमा तदारुकता देखाउन अत्यन्त जरुरी भैसकेको छ। यात्राको क्रममा धेरै देशमा अलपत्र परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउने चाँडै चाँजोपाँजो मिलाउन अत्यन्त आवश्यक भैसकेको छ।

जसरी नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई संवन्धित देशले जहाज चार्टर गरेर स्वदेश फर्काएजस्तै विदेशमा अलपत्र परेका नेपालीहरुलाई संवन्धित देशमा रहेका नेपाली राजदूतहरु मार्फत जहाज चार्टरै गरेर भएपनि नेपाल फर्र्काउने व्यवस्था गरिदिन पनि केन्द्रिय अध्यक्ष लामाले अनुरोध गरेका छन्।
अर्कोतर्फ, अमेरिका लगायत विभिन्न देशमा काम विशेषले रहेका तथा अध्ययनका क्रममा रहेका नेपालीहरुको अवस्था हेरेर उनीहरुको भिसा लगायतको व्यवस्थालाई सहज गरिदिने जस्ता कार्यमा यहाँवाट पहल गर्नु र गराउनु यो विषम परिस्थितिमा अत्यन्त आवश्यक छ।

कतिपय देशमा नेपाली विद्यार्थी लगायत अन्य प्रयोजनमा रहेका नेपालीहरुको अवस्था बेहाल भएको पनि छ। उनीहरुको लागि उचित व्यवस्थापन गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रिय योगदान यतिखेर अत्यन्त आवश्यक भएको पनि ज्ञापन–पत्रमा उल्लेख भएको छ। त्यस्तैगरेर, बैदेशिक रोजगारीको सिलसिलामा परदेशिएकाहरुको वर्तमान विषम समयमा रोजगारी गुमेको छ।

रोजगारी गुमेका कैयन नेपालीहरुलाई विदेशमा अलपत्र पारेर राख्नुभन्दा उनीहरुलाई नेपाल फर्काएर उचित रोजगारी दिनु आवश्यक छ। त्यसरी फर्केका नेपालीहरुलाई नेपालको कृषि क्षेत्रमा मात्र रोजगारी दिन सकेमा नेपाल समृद्ध बन्ने निश्चित छ भनेर व्यापक संभावनाको विषय पनि ज्ञापन–पत्रमा उत्थान गरिएको छ।

सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले देख्नु भएको समृद्ध नेपाल र सुखी नेपाली भन्ने सपना नेपालको कृषि क्षेत्रले नै पूरा गर्नेछ भन्दै केन्द्रिय अध्यक्ष लामाले लाखौ लाखलाई नेपालको उर्वराभूमिमा आधुनिक कृषिमा नेपाल सरकारले नै प्रत्यक्ष रोजगार दिने व्यवस्था गरेमा परदेशिएका नेपालीहरु स्वदेश फर्केर नेपालकै भूमिमा खुनपसिना चुहाएर नेपाललाई समृद्ध बनाउने छन् भनेका छन्।

परदेश मोह पोख्ने नेपालीहरुलाई स्वदेश मोह गर्न र गराउन अनेक उपायहरु रहेका छन्। त्यसको लागि राष्ट्रिय योजना आयोग मार्फत विभिन्न विज्ञमार्फत योजनाहरु सार्वजनिक गरेर उनीहरुलाई आकर्षित पार्नु आवश्यक छ। नातावाद, कृपावादभन्दा माथि उठेर एक घर एक सरकारी रोजगार मात्र दिन सकेमा पनि परदेशिनेको संख्यामा कमी हुनेछ। त्यस्तैगरेर, स्वदेशमा रोजगारी गर्न र गराउन राष्ट्रिय युवा परिषद लगायतका विभिन्न निकाय तथा संघ–संस्थामार्फत युवाहरुलाई प्रोत्साहन दिने आधारशिला तयार पारेर स्वदेश फर्काउने मार्ग प्रशस्त गर्न हुन अनुरोध गर्ने कार्य पनि भएको छ।

परदेशमा खुन–पसिना पोखेर सीपवान भएका कैयन नेपालीहरुमा रहेको त्यो सीप र सिर्जनालाई नेपालको माटोमा पोखाउन पाएमा नेपाल उर्वरभूमि हुनेछ। नेपाल सीपवानहरुको देश वन्नेछन्। सियो पनि नबन्ने भन्ने उखानलाई झूठो सावित गराउंदै रोबोट र रकेट बनाउन सक्ने मुलुकको रुपमा नेपाललाई बनाउन आधार तयार पार्न प्रधानमन्त्री ओलीलाई यथाशिघ्र कदम चाल्न सल्लाह पनि दिएका छन्।

कोरोनाभाइरसको संक्रमणको कारण नेपालमा जारी लकडाउनले नेपालीहरुलाई ज्यादै समस्या भैरहेको छ। उनीहरुको रोजगारी गुमेको छ। आय–आम्दानी बन्द भएको छ। केवल विपन्न वर्गलाई मात्र राहतको व्यवस्था नगरिकन आम नेपालीहरुको समस्यालाई संवोधन गरेर समृद्ध मुलुकहरुमा जस्तै राहत कोष मार्फत भोटर कार्डको आधारमा राहत चेक उपलव्ध गराउने जस्ता विभिन्न प्याकेज ल्याएर नेपालीहरुको जनजीवनलाई नेपालमा सहज बनाइदिन पनि हामी नेपाली ग्लोबलको अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विन्ती एवम् ज्ञापन–पत्र चढाएको केन्द्रिय अध्यक्ष लामाले ज्ञापन–पत्रमा उल्लेख गरेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशााख १२ गते शुक्रवार ।