काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस सिमित घेरामा उपलव्धिमूलक कार्य गरेर मनाउने निर्णय गरेको छ। मंसीर २९ गते काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस उपलव्धिमूलक कार्य गरेर मनाउन लागेको हो।

यसक्रममा महानगरवाट सेवाग्राहीहरुलाई प्रदान गर्दैआएको सेवाको संवन्धमा राय सुझाव र गुनासो संकलन अभियानलाई तिब्रता दिने कार्य शनिवारवाटै गरेको जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतवार आयोजित पत्रकार सम्मेलनमा वताएका छन्। ४० हजारभन्दा बढीको राय सुझाव र गुनासो संकलन गरेर उहाँहरुले दिएको राय सुझाव अनुरुप महानगरको कार्यमा अझ चुस्तता र प्रभावकारी वनाउन आफूले व्यापक पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

हिजोका दिनहरुमा महानगरपालिका भनेपछि शहरी पूर्वाधार ढल निकास र फोहर प्रवन्धको मात्र काम गर्ने अधिकार क्षेत्रवाट बढे्र आफूहरु निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, सम्पदा लगायतका क्षेत्रमा पनि स्थानीय स्वायत अधिकार लिएर ती क्षेत्रहरुमा व्यापक सुधार गर्ने कार्य गर्न सफल भएको जिकिर पनि मेयर शाक्यले गरेका छन्।

विसं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै विसं.२०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष काठमाडौँ महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएको स्मरण गराउँदै मेयर शाक्यले काठमाडौं नगरपालिकालाई महानगरपालिका वनाउन तत्कालिन मेयर पिएल सिंहको ठूलो योगदान रहेको वताए। त्यो बेला आफूपनि दुई कार्यकाल वडा अध्यक्ष भएको कारण काठमाडौंलाई नेपालकै जेठो महानगरपालिका वनाउन महत्वपूर्ण योगदान दिने कार्यमा साथ सहयोग रहेको मेयर शाक्यले खुलासा गरेका छन्।

विगतका बर्षमा जस्तै यस वर्ष पनि महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका गुरुहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मानबाट सम्मानित हुनेलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्ने जानकारी दिएको छ ।

त्यसैगरी काठमाडौंका पहिलो जननिर्वाचित मेयर स्व. जनकमान श्रेष्ठका नाममा यो बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गर्ने भएको छ। पुरस्कारबाट २ जना पुरुष २ जना महिलालाई सम्मान प्रदान गरिने भएको छ। सेवा प्रवाहमा निरन्तर खटिरहेका काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवाभावमा थप अभिप्रेरित गर्ने हेतुले ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई स्थानीय सेवा गौरव पदकबाट सम्मानित गर्ने पनि महानगरपालिकाले तयारी गरेको छ।

महानगरबाट प्रवाह हुने सेवा तथा कामका बिषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिकको पहुँचसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सञ्चारकर्मीमध्ये १० जनालाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ। इन्द्रजात्रा सम्बन्धी अनुसन्धानात्मक पुस्तक विमोचन, उत्कृष्ट वडाको घोषणा एवं सम्मान गर्ने कार्यक्रम पनि रहेको मेयर शाक्यले भनेका छन्। कार्यक्रम मंसीर २९ गते सोमवार राष्ट्रिय सभागृहमा हुने भएको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर २८ गते आइतवार ।